सोरेङ: २१२औँ भानु जयन्ती समारोह २०२६ लाई भव्य रूपमा मनाउन शनिबार सोरेङ जिल्ला प्रशासनिक केन्द्रमा तेस्रो समन्वय बैठक सम्पन्न भएको छ। सिक्किम विधानसभाका अध्यक्ष एवं समारोह समितिका अध्यक्ष एमएन शेर्पाको अध्यक्षतामा बसेको बैठकले उत्सवको तयारीलाई तीव्रता दिने निर्णय गरेको छ।
बैठकलाई सम्बोधन गर्दै अध्यक्ष शेर्पाले भानु जयन्तीको सफलताका लागि सबै उपसमितिहरूबीच प्रभावकारी समन्वय र सामूहिक जिम्मेवारी हुनुपर्नेमा जोड दिनुभयो। उहाँले प्रस्तावित सबै गतिविधिहरूलाई तोकिएको समयभित्रै कार्यान्वयन गर्न सम्बन्धित निकायलाई निर्देशन समेत दिनुभयो।
कार्यक्रममा सोरेङ–च्याखुङ निर्वाचन क्षेत्रका विधायक आदित्य गोलेले विभिन्न विधाका कार्यक्रमबारे सुझाव राख्दै समस्याहरूको ठोस समाधान निकाल्न सदस्यहरूलाई आग्रह गर्नुभयो। उहाँले कार्यक्रमलाई परिणाममुखी बनाउन सबै पक्षको समन्वयात्मक प्रयास आवश्यक रहेको बताउनुभयो।
बैठकमा साहित्य समितिका प्रतिनिधि सन्तोष कुमार आले र सांस्कृतिक समितिका सुमन आलेले आ–आफ्नो विभागको तयारीबारे प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। विभिन्न उपसमितिहरूले पेश गरेका प्रस्तावहरूमाथि विस्तृत छलफल गरी आवश्यक संशोधनसहित अन्तिम रूप दिइएको छ।
बैठकमा विधायक मदन सिन्चुरी, आईटीएसका उपाध्यक्ष सीपी शर्मा, जिल्लापाल धिरज सुबेदी, एडीसी डीआर बिष्ट लगायत विभिन्न विभागका विभागीय अधिकारीहरूको उपस्थिति रहेको थियो। आगामी जुलाईमा मनाइने भानु जयन्तीलाई सोरेङ जिल्लाले विशेष पर्वको रूपमा मनाउने तयारी गरेको छ।










