गान्तोक: विपक्षी सिक्किम डेमोक्रेटिक फ्रन्ट एसडीएफ पार्टीले राज्यमा हुन गइरहेको पञ्चायत चुनाउ साथै कानून व्यवस्थाका विभिन्न मुद्दाको उठान गर्दै आज बिहिबार मुख्य सचिव भीबी पाठकसँग भेट गरी एउटा ज्ञापन बुझाएको छ। पार्टीको प्रतिनिधि टोलीलाई प्रमुख प्रवक्ता एमके सुब्बाले नेतृत्व गरेका थिए।मुख्य सचिवलाई बुझाएको ज्ञापनपत्रमा एसडीएफ पार्टीले पञ्चायत चुनावमा नामाङ्कन दर्ता गर्ने सबै उमेद्वारको सुरक्षा सुनिश्चित हुनुपर्ने र कसैलाई पनि उमेद्वारीता दर्ता गर्न वा फिर्ता लिन दवाव हुनु नहुने माग गरेको छ।
एसडीएफ पार्टीका मुख्य प्रवक्ता एमके सुब्बा, प्रवक्ता जेबी दर्नाल, वन्दना शर्मा, पूर्व मन्त्री निरु सेवा लगायत अन्य सदस्यले टाशिलिङ सचिवालयमा मुख्य सचिव भीबी पाठकसँग भेट गरेर ज्ञापन बुझाएका हुन्। यो ज्ञापन राज्यका गृहसचिव र डाइरेक्टर जनरल अफ् पुलिसलाई पनि आज नै बुझाउने एसडीएफका मुख्य प्रवक्ता एमके सुब्बाले जानकारी दिएका छन्। २०१९ देखि अहिलेसम्म एसडीएफ पार्टीले विभिद मुद्दामा केन्द्र सरकार र राज्यका विभिन्न एजेन्सीलाई ३७ वटा ज्ञापन बुझाएको तर कुनै मुद्दामा पनि ठोस कारबाही नभएको एसडीएफ प्रतिनिधि टोलीको आरोप छ।
आज चढाएको ज्ञापनमा मुख्य सचिवले सकारात्मक आश्वासन दिएको र सबै मुद्दामा मुख्य सचिवको पक्षबाट चांडै पहल हुनेछ भन्ने पनि एसडीएफले विश्वास व्यक्त गरेको छ।