गान्तोक: भारतीय जनता पार्टी (भाजपा) सिक्किमले ‘नारी शक्ति वन्दन अधिनियम’को समर्थनमा राज्यव्यापी हस्ताक्षर अभियान सुरु गरेको छ।
पार्टीका अनुसार अभियानको उद्देश्य लोकसभामा पेश गरिएको उक्त विधेयकबारे जनचेतना फैलाउनु र जनसमर्थन जुटाउनु रहेको छ। महिला राजनीतिक सशक्तीकरणको सन्देश घर–घरमा पुर्याउने लक्ष्यसहित कार्यकर्ताहरू नागरिकसम्म पुग्ने जनाइएको छ।
भाजपाले लोकसभा तथा राज्य विधानसभाहरूमा महिलाका लागि ३३ प्रतिशत आरक्षणको महत्वबारे जानकारी गराउने र यस ऐतिहासिक विधेयकको पक्षमा हस्ताक्षर संकलन गर्ने बताएको छ।
पार्टीले ‘नारी शक्ति वन्दन अधिनियम’लाई समावेशी लोकतन्त्रतर्फको महत्वपूर्ण कदमको रूपमा व्याख्या गर्दै यस पहलमा सिक्किमले प्रधानमन्त्री नरेन्द्र मोदीको साथ दृढतापूर्वक उभिएको उल्लेख गरेको छ।
हस्ताक्षर अभियानमार्फत नारी शक्तिको पक्षमा सिक्किमका नागरिकको आवाज सशक्त रूपमा उठाउने उद्देश्य रहेको पनि प्रदेश भाजपाले जनाएको छ।










