कालिम्पोङ: दार्जिलिङ लोकसभा क्षेत्रका सांसद राजु बिष्ट ले कालिम्पोङ विधानसभा अन्तर्गत रम्बी बजार क्षेत्रमा स्थानीय बासिन्दासँग अन्तरक्रियात्मक भेटघाट गर्दै भारतीय जनता पार्टी गठबन्धनका उम्मेदवार भरत क्षेत्रीका पक्षमा मत दिन आग्रह गरे।
कार्यक्रमका क्रममा उनले रम्बी क्षेत्र सम्भावनाले भरिपूर्ण भए पनि यहाँका बासिन्दाहरूले विभिन्न समस्या भोग्दै आएको बताए। विशेषगरी उचित स्वास्थ्य सेवा सुविधाको अभाव तथा तल्लो तीस्ता क्षेत्रमा बढ्दो डेंगुका घटनाहरूलाई उनले गम्भीर चुनौतीका रूपमा उल्लेख गरे।
सांसद बिष्टले तीस्ता उपत्यकाको समग्र विकासका लागि स्थानीय समुदायसँग सहकार्य गरेर काम गरिने प्रतिबद्धता व्यक्त गरे। उनले केन्द्र सरकारले ८०० करोड रुपैयाँ विनियोजन गरिसकेको र राष्ट्रिय राजमार्ग ११० को पुनर्स्थापना तथा विस्तार कार्य तीव्र गतिमा अघि बढिरहेको जानकारी दिए।
यसै कार्यक्रमअन्तर्गत सिलगढी एनएच–१० ट्रक मालिक तथा चालक कल्याण संघका सदस्यहरू पनि भारतीय जनता पार्टीमा आवद्ध भए। संघका अध्यक्ष सन्तोष शिवाकोटी, उपाध्यक्ष सोमप्रसाद शर्मा, सचिव उत्तम तामाङ, सह–सचिव प्रणिश राई, कोषाध्यक्ष हरका लामा लगायत सम्पूर्ण सदस्यलाई पार्टीमा स्वागत गरियो।
सांसद बिष्टले कालिम्पोङ, दार्जिलिङ, कुर्सेओङ, तराई र डुवर्स क्षेत्रका जनताले प्रधानमन्त्री नरेन्द्र मोदी को नेतृत्वमा रहेको भारतीय जनता पार्टी गठबन्धनले मात्र क्षेत्रको विकास गर्न सक्ने विश्वास गरेको बताए।
उनले सबैलाई पार्टीमा स्वागत गर्दै एकताबद्ध भएर क्षेत्रको समग्र रूपान्तरणका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गरे।









