सिक्किममा एलपीजी आपूर्ति स्थिर, ब्याकलग १.४६ दिनमा सीमित

LPG-Cylinder-2-1400x875

गान्तोक: सिक्किममा एलपीजी सिलिण्डरको आपूर्ति तथा वितरण स्थिर रहेको र उपभोक्तालाई समयमै सेवा उपलब्ध गराउँदै वर्तमान ब्याकलग १.४६ दिनमा सीमित गरिएको जनाइएको छ।
प्रेस सूचना ब्युरो (पीआईबी)का अनुसार पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्रालयले राज्य सरकार र एलपीजी वितरकहरूसँग समन्वय गर्दै आपूर्ति शृङ्खलामा कुनै अवरोध नआओस् भनी निरन्तर निगरानी गरिरहेको छ। घरायसी माग पूरा गर्न बोटलिङ संयन्त्र र गोदामहरूमा पर्याप्त भण्डारण कायम गरिएको छ।
हाल राज्यमा कुल ५,२८४ एलपीजी बुकिङ थाँतीमा रहेको छ भने औसत दैनिक वितरण ३,६१८ सिलिण्डर रहेको छ। यस वितरण दरअनुसार समग्र ब्याकलग १.४६ दिनमा सीमित भएको आईओसीएलका एक वरिष्ठ अधिकारीले जानकारी दिएका छन्।
नियमित एलपीजी कनेक्सन नभएका विद्यार्थी, प्रवासी मजदुर तथा अस्थायी बासिन्दाका लागि गान्तोक जिल्लाका चयनित वितरण केन्द्र तथा एजेन्सीमार्फत ५ केजीका फ्री ट्रेड एलपीजी (एफटीएल) सिलिण्डर उपलब्ध गराइएको छ।
यसैबीच, उपभोक्तालाई सहज बनाउन सम्बन्धित निकायहरूले डिजिटल माध्यममार्फत जनचेतना फैलाउने र दैनिक वितरण तालिका सार्वजनिक गर्ने कार्य जारी राखेका छन्।
सरकारले आवश्यक इन्धनको निर्बाध आपूर्ति सुनिश्चित गरिरहेको उल्लेख गर्दै नागरिकलाई अनावश्यक रूपमा पेट्रोल, डिजेल तथा एलपीजी सञ्चय नगर्न आग्रह गरेको छ। अफवाहबाट सतर्क रहन र आधिकारिक स्रोतबाट मात्र जानकारी लिन पनि अनुरोध गरिएको छ।
उपभोक्तालाई डिजिटल बुकिङ प्रणाली प्रयोग गर्न, वितरककहाँ भीड नगर्न तथा सम्भव भएसम्म इन्डक्सन वा विद्युतीय चुलो प्रयोग गर्न प्रोत्साहित गरिएको छ। साथै ऊर्जा बचतका उपाय अपनाउन सबैलाई आह्वान गरिएको छ।

About Author

Advertisement