खरसाङ: कोविडको समय चिया श्रमिकहरूको निम्ति उठाइएको रिलिफ फण्ड अझैं केही दिन नदिइए पहाड़का सबै चिया बगानका श्रमिकहरूलाई जीटीए अध्यक्ष अनित थापाको घरमा लिएर जाने चेताउनी खरसाङको सामी लाखाङ बुद्धिष्ट गुम्बाका धर्म गुरू पेम्बा रिम्पोर्छेले दिएका छन्। उनले उक्त रिलिफ फण्ड केवल चिया श्रमिकहरूको हितको निम्ति मानिसहरूले दिएका हुन् भन्दै उक्त फण्ड अविलम्ब उनीहरूलाई दिनुपर्ने माग गर्दै यदि अझैपनि केही दिन नदिइए पहाड़का सम्पूर्ण चिया बगानका श्रमिकहरूलाई अनित थापाको घरमा लिएर जाने चेताउनी दिएका छन्। रिम्पोर्छेले भने-आज चिया श्रमिकहरूको अवस्था अत्यन्तै दयनीय बनेको छ। उनीहरूलाई लिएर पहाड़का नेताहरूले धेरै राजनीति गरे। म अब त्यसो हुन दिने छुइनँ। म चिया श्रमिकहरूलाई उनीहरू हक र अधिकार दिलाएर नै छोड्ने छु। उनले रिलिफ फण्डको निम्ति जिल्ला शासक कार्यालय घेरेर नहुने बताउँदै अनित थापाले नै यो पैसा श्रमिकहरूको निम्ति भनेर उठाएका हुन् र उनले नै यो पैसा भुक्तान गर्नुपर्छ भन्दै उनले वचन दिए अनुसार उक्त रिलिफ फण्डमा अझ डबल थपेर दिइएको हुनु पर्ने जनाए। यदि उनले थपेर दिइएको खण्डमा लगभग छ करोड़भन्दा धेर हुने बताउँदै अतिशीघ्र उक्त फण्ड चिया श्रमिकहरूलाई दिनुपर्ने बताए। पेम्बा रिम्पोर्छेले चाँड़ै एउटा नयाँ राजनीति दल खोल्ने संकेत पनि दिएका छन्। तर त्यो नयाँ पार्टीको नामाकरण भने पहाड़, तराई, डुवर्स लगायत देशभरिका उनका अनुयायीहरू लगायत गोर्खा, बंगाली, मारवाड़ी, बिहारी, आदिवासी, मुस्लिम, लेप्चा, भोटे तथा अन्य सबै जाति, समुदायका प्रतिनिधिहरू, बुद्धिजीविहरूको सल्लाह परामर्श लिएर नै राखिने जनाए। उनले उक्त नयाँ राजनीतिक दल गठन गर्नुको मुख्य उद्धेश्य छुट्टै राज्य रहेको बताउँदै तर छुट्टै राज्यको रोडम्याप तयार गर्न सबै वर्ग, जाति, समुदाय अनि बुद्धिजीविहरूलाई साथमा लिने जनाए। रिम्पोर्छेले हाल तिनी भएकोमा धेरै मानिसहरू यस सन्दर्भमा कुरा गर्न आइरहेको जनाउँदै चाँड़ै यसको निम्ति पदक्षेप लिइने बताए। पहाड़बाट सर्वप्रथम घुसखोरी, दलालबाजी, कमिशनखोरी हटाउनु पर्छ। नेताहरूबाट झुटको राजनीति भगाउनु पर्छ अनि मात्र यहाँ शान्ति, भाइचारा, विकास इत्यादि आउँछ भन्दै दार्जीलिङ पहाड़ अवश्य नै बंगालबाट छुटिन्छ तर त्यसको निम्ति सठीक रोडम्याप तयार गर्नुपर्छ औ त्यस मागलाई अघि लिएर जाने व्यक्ति तथा नेतृत्वहरू इमान्दार हुनुपर्छ भन्ने कुरा पनि रिम्पोर्छेले गरे।
वर्तमान पहाड़का नेताहरूले पहाड़लाई बिगार्ने काम गरेको अभियोग लगाउँदै यस्तो बिग्रिएको पहाड़को व्यवस्थालाई सुधार ल्याउन अब आफुले दायित्व सम्हाल्न कटिबद्ध भएर यसरी अगाड़ी आएको जनाउँदै यद्यपि यसको निम्ति सम्पूर्ण पहाड़वासीलाई साथ र सहयोग गरिदिने आग्रह पनि गरेका छन्।










