माजुली: विश्वको सबैभन्दा ठुलो नदी टापु माजुलीस्थित ऐतिहासिक आउनीआटी सत्र (मठ) मा ३०० वर्षदेखि चल्दै आएको परम्परागत ‘बोका खेल’ (हिलो खेल) यस वर्ष पनि भव्य रूपमा मनाइएको छ। नयाँ वर्ष अर्थात् वैशाखको पहिलो दिनमा आयोजना गरिने यो अनौठो खेलमा सत्रका भक्त तथा वैष्णवहरूले उत्साहपूर्वक भाग लिएका छन्।
पुर्खादेखि चलिआएको यो संस्कृति असमको समृद्ध सांस्कृतिक धरोहर र रंगाली बिहूको उमङ्गको अभिन्न पाटो मानिन्छ। सत्र परिसरमा जम्मा भएका श्रद्धालुहरूले एक-अर्कामा हिलो दलेर आनन्द साटासाट गर्दा सम्पूर्ण वातावरण उत्सवमय बनेको थियो। आफ्नो सांस्कृतिक आस्था र परम्परालाई जीवन्त राख्न हरेक वर्ष यो खेल खेल्ने गरिन्छ, जसले आपसी भाइचारा र खुसीलाई झल्काउँछ।









