दार्जिलिङ: जनताको हितमा आएको फण्ड जनतामा नै प्रयोग गर्नेछु भन्दै अजय एडवर्डसले दार्जीलिङवासीलाई वाचा गरेका छन्। इण्डियन गोर्खा जनशक्ति फ्रण्टले पार्टी केन्द्रीय संयोजक अजय एडवर्डसलाई दार्जीलिङ विधानसभा समष्टिबाट चुनावी मैदानमा उतारेका छन्। अजय एडवर्डसले आज दार्जीलिङ विधानसभा क्षेत्रको सदर ३ र ४ समष्टिहरूमा चुनावी प्रचार गरेका छन्। यसै क्रममा यहाँको राजबारीमा आयोजित पथ सभालाई सम्बोधन गर्दै अजय एडवर्ड्सले दार्जीलिङ विधानसभा समष्टिको मतदाताहरूले मलाई विजय बनाएर विधानसभामा पठाएको खण्डमा जनताको हितमा आएको फण्ड जनताको हितमा प्रयोग गर्नेछु भन्दै वाचा गरेका छन्। उनले भने, “तपाईहरूले भोट दिएर मलाई विजय बनाउनु भयो भने म कहिले घमण्डी हुँदिन,जनताको निम्ति आएको सरकारी सहुलियतको दुरुपयोग हुनु दिने छुइन। कमिशन खोर हुँदिना। हार जीत चुनावको नियम हो तर यो मेरो हात जनताको सेवा कार्यमा निरन्तर रूपमा लागि पर्नेछ। किनकि मेरो मन मस्तिष्कमा दार्जीलिङप्रति चोखो माया रहेको छ।
उनले अघि भने, ‘दार्जीलिङ पहाड बचाउन पर्छ। क्षेत्रीयता बचाउँनु पर्छ भनेर मैले सबैलाई गुहार लगाए, मेरो साथी मन घिसिङलाई पनि एकबद्ध भएर चुनावी मैदानमा जानुपर्छ भन्ने गुहार लगाए। गोजमुमो प्रमुख विमल गुरूङलाई भेटेर बिजेपीलाई छोडनुपर्छ दाजु हामीले हाम्रो पहाड बचाउनु पर्छ,हाम्रो क्षेत्रीयता बचाउनु पर्छ भनेर गुहार लगाए। तर मैले बुझ्न सकिन बिमल दाजुले बिजेपी छोडनु मान्दैन। पहाडको कतिपय राजनैतिक दलले बंगाल छोडनु मान्दैन,कतिपय राजनैतिक दलले केन्द्रको भाजपा छोडन मान्दैन।दार्जीलिङ पहाड बाँच्नु पर्छ,हाम्रो क्षेत्रीयता सुरक्षित हुन पर्छ भन्ने पार्टी भनेको नै इण्डियन गोर्खा जनशक्ति फ्रण्ट हो यो कुरा तपाईहरूले पनि बुझ्नपर्छ।’

उनले अझ भने, “दार्जीलिङ पहाडको सत्ताधारी पार्टीले भेदभाव गर्दै आएको छ।दार्जीलिङ नगरपालिकामा हामीले बोर्ड गठन गर्दा निर्वाचित जन प्रतिनिधिहरू सबैलाई समेटेर हामीले प्रत्येक वार्डहरूमा विकास हुनपर्छ भन्ने सोंच लिएर काम गर्दै आएका थियौँ। तर हाम्रो बोर्ड आठ महिना पनि राम्रोसँग चल्न सकेन। जीटीए सभाको चुनावमा हाम्रो उम्मेद्वारहरूले निर्वाचित भएका छन तर पहाडको सत्ताधारी पार्टीको नेतृत्वहरूले विपक्षी विजय भएका समष्टिहरूमा फुटेको कौडीसम्म दिएको छैन। निर्वाचित सभासदहरूले पाउने गाडीको तेल, चौकी आदि केही दिएका छैनन्। विगतको चुनावहरूमा तपाईहरूले हामीलाई माया गरेर भोट दिनु भयो अनि नगरपार्षद, सभासद निर्वाचित गर्नु भयो तर तपाईहरूको सभासदहरूलाई सत्ताधारी पार्टीले फुटेको कौडी समेत नदिएकोले हुन पर्ने विकासको कार्यहरू भएको छैन। अब हुने विधानसभा चुनावमा मलाई विजय बनाएर पठाउनु भयो भने जनताको हितमा आएको फन्ड जनतामा नै प्रयोग गर्नेछु अरूले जस्तो गलत प्रयोग गर्ने छुइन।’











