राज्यमा साइबर ठगी बढ्दो, ऋण एपको जालमा परेर महिलाबाट ठगी

CYBER-CRIME-PROFILING-QUINTESSENTIAL-NEED-FOR-CYBER-OFFENDER-DETECTION-IN-INDIA

गान्तोक: अनलाइन सेवाहरूको प्रयोग बढेसँगै सिक्किममा साइबर ठगीका घटनाहरू पनि दिनदिनै बढ्न थालेका छन्। विभिन्न प्रलोभन र जालसाजीका माध्यमबाट साइबर अपराधीहरूले उपभोक्तालाई निशाना बनाइरहेका छन् भने अर्कोतर्फ जनचेतनाको अभावले पनि यस्ता घटनामा वृद्धि भइरहेको देखिन्छ।
यसैबीच राजधानी गान्तोकमा हिजो साइबर ठगीको नयाँ घटना सार्वजनिक भएको छ। प्रहरी रिपोर्टअनुसार एक महिलाले एक लाख रुपैयाँ ऋण लिनका लागि ‘क्यास बस’ नामक मोबाइल एपमार्फत आवेदन दिएकी थिइन्।
आवेदन दिएको करिब तीन घण्टापछि उनको खातामा ४३ हजार ५०० रुपैयाँ जम्मा भएको थियो। त्यसको छ दिनपछि एक अज्ञात नम्बरबाट फोन गरी ब्याजसहित रकम फिर्ता गर्न दबाब दिइयो। त्यसपछि ४ र १३ मार्चका दिन उनले जम्मा ७९ हजार ४३७ रुपैयाँ भुक्तानी गरिन्।
तर यतिमा पनि नरोकी ठगहरूले पुनः पटक–पटक फोन गरी थप रकम माग्न थालेपछि महिलाले आफू ठगीको सिकार भएको थाहा पाइन्। त्यसपछि उनले प्रहरीमा उजुरी दर्ता गराएकी छन्।
प्रहरीले सर्वसाधारणलाई यस्ता अपरिचित मोबाइल एप र अनलाइन ऋण सेवाबाट सचेत रहन आग्रह गर्दै कुनै पनि आर्थिक कारोबार गर्नु अघि राम्रोसँग जाँचबुझ गर्न सुझाव दिएको छ।

About Author

Advertisement