गान्तोक: सिक्किममा नयाँ श्रम संहिताको कार्यान्वयन र अन्तर-विभागीय समन्वयन सुदृढ बनाउने प्रगतिसम्बन्धी समीक्षा बैठक ईपीएफओ गान्तोक, विशेष राज्य कार्यालयमा आज सम्पन्न भयो। बैठकको अध्यक्षता क्षेत्रीय भविष्य निधि आयुक्त केसाङ एन. तेञ्जिङले गरेका थिए। बैठकमा एमएसएमई, ईएसआइसी र पीआइबीका प्रतिनिधि तथा अन्य सम्बन्धित अधिकारीहरू सहभागी भएका थिए।
बैठकमा अधिकारीहरूले ज्याला संहिता (२०१९), औद्योगिक सम्बन्ध संहिता (२०२०), सामाजिक सुरक्षा संहिता (२०२०) र पेशागत सुरक्षा, स्वास्थ्य तथा कार्यस्थिति संहिता (२०२०) सम्बन्धी पारगमन मार्गचित्रमाथि विस्तृत छलफल गरेका थिए। यसका साथै जागरूकता सिर्जना, अनुपालन सुगमिकरण र राज्यव्यापी हितधारक संलग्नता बढाउने विषयमा ध्यान केन्द्रित गरिएको थियो।
अधिकारिहरूले नियोक्ता र कर्मचारीहरूलाई श्रम संहिता, सामाजिक सुरक्षा कवच, ज्यालाको सुरक्षा तथा कार्यस्थलको सुरक्षा मानकबारे सुसूचित राख्न सूचना, शिक्षा र सञ्चार गतिविधिमा विशेष जोड दिनुपर्ने बताए। नयाँ कानुनी संरचनातर्फ सुचारू पारगमन सुनिश्चित गर्न उद्योग निकाय र व्यापार सङ्घसँग मिलेर लोकसम्पर्क कार्यक्रम सञ्चालन गर्ने योजना पनि समीक्षा गरियो।
ईएसआइसीका पवनकुमार शर्माले सिक्किममा आयोजित स्प्री अभियानका सकारात्मक परिणाम साझा गर्दै स्वास्थ्य सुरक्षा कवच विस्तार र नयाँ प्रतिष्ठानहरू समावेश गर्ने अनुभव प्रस्तुत गरे। उनले गत वर्ष १ नोभेम्बरदेखि ३० अप्रिलसम्म सञ्चालन हुने कर्मचारी प्रवेश अभियानअन्तर्गत चिन्हित प्रतिष्ठानहरूको सूची समन्वय गरेर जागरूकता प्रयास सहज बनाउन विभागसँग साझा गरिने जानकारी दिए।
पीआईबीका मैनाक च्याटर्जीले नियोजित मिडिया प्रसार, जनबुझाई र सहभागितामा सुधार ल्याउन श्रम संहिताबारे सरलीकृत जानकारी प्रसारित गर्ने लोकसम्पर्क अभियानहरू बढाउने रणनीति प्रस्तुत गरे।
बैठक श्रम सुधार र सामाजिक सुरक्षा कवच राज्यव्यापी प्रभावकारी बनाउन नियमित समीक्षा, अन्तरक्रिया र सामूहिक जागरूकता अभियान सञ्चालन गर्ने सङ्कल्पसहित समापन भएको छ।











