मुख्यमन्त्री मेन्टरशिप कार्यक्रमअन्तर्गत मङ्गनका विद्यालयमा शीतकालीन कोचिङ कक्षा

n6995298291770140166981f4fa57688f5bef85c9830442d02e29bfc9beb8099d91676c2abae877206942d4

मङ्गन: चीफ मिनिस्टर मेन्टरशिप प्रोग्रामको तत्वावधानमा मङ्गन जिल्लाका सबै माध्यमिक तथा उच्चतर माध्यमिक विद्यालयहरूमा शीतकालीन कोचिङ कक्षाहरू सञ्चालन गरिएको छ। जाडो बिदाको अवधिमा विद्यार्थीहरूलाई शैक्षिक सहयोग र मार्गदर्शन प्रदान गर्ने उद्देश्यले उक्त कोचिङ कक्षा सञ्चालन गरिएको हो।
विषयगत ज्ञान अभिवृद्धि गर्ने, आधारभूत अवधारणालाई सुदृढ पार्ने तथा संरचित कोचिङ सत्रमार्फत समग्र शैक्षिक प्रदर्शन सुधार गर्ने लक्ष्यसहित कार्यक्रम डिजाइन गरिएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ। यस पहललाई पञ्चायत, विद्यालय व्यवस्थापन समिति तथा स्थानीय समुदायबाट उत्साहजनक समर्थन प्राप्त भएको बताइएको छ। अधिकांश केन्द्रहरूमा आवासीय सुविधाको समेत व्यवस्था गरिएको थियो, जसले कार्यक्रमको सहज कार्यान्वयनमा सहयोग पुर्‍याएको छ।
कोचिङ कक्षामा गणित, अङ्ग्रेजी, विज्ञान र सामाजिक विज्ञानजस्ता प्रमुख विषयहरू समेटेर तोकिएको समयतालिका अनुसार पठनपाठन गराइएको थियो। अनुभवी विषय शिक्षकहरूले अन्तरक्रियात्मक शिक्षण विधि, नियमित अभ्यास सत्र तथा शंका समाधानमार्फत विद्यार्थीहरूलाई मार्गदर्शन गरेका थिए। क्याटालिटिक चार्टर एजुकेशन फाउन्डेसनद्वारा सीबीएसई परीक्षा ढाँचामा आधारित नमूना प्रश्नपत्र तयार पारिएको थियो भने बोर्ड परीक्षा ढाँचासँग परिचित गराउन साप्ताहिक परीक्षणहरू सञ्चालन गरिएको थियो।
समावेशी सिकाइ सुनिश्चित गर्न थप शैक्षिक सहयोग आवश्यक पर्ने विद्यार्थीहरूलाई विशेष ध्यान दिइएको थियो। विद्यार्थीहरूले कोचिङ सत्रहरूमा सक्रिय सहभागिता जनाउँदै कार्यक्रमप्रति सकारात्मक प्रतिक्रिया दिएका छन्। यस पहलले विद्यार्थीहरूलाई अध्ययनप्रति उत्प्रेरित गर्न, अध्ययन बानी सुधार गर्न, आत्मविश्वास विकास गर्न तथा अनुशासन, नियमित उपस्थिति र प्रभावकारी समय व्यवस्थापन प्रवर्द्धन गर्न महत्वपूर्ण भूमिका खेलेको जिल्ला मुख्य शिक्षा अधिकारी कार्यालयले जनाएको छ ।

About Author

Advertisement