नयाँ दिल्ली: भारतका विदेश मन्त्री एस. जयशंकरले भारत र अमेरिका बीच भएको व्यापार सम्झौताको स्वागत गर्दै यसले दुवै देशको अर्थतन्त्रलाई गति दिने र ‘मेक इन इन्डिया’ अभियानलाई बलियो बनाउने बताएका छन्।
जयशंकर महत्वपूर्ण खनिज आपूर्ति शृङ्खलासम्बन्धी अमेरिका नेतृत्वको मन्त्रीस्तरीय बैठकमा सहभागी हुन तीनदिने अमेरिका भ्रमणमा छन्। उनले द्विपक्षीय व्यापारसम्बन्धी घोषणाहरू सकारात्मक भएको बताए।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रधानमन्त्री नरेन्द्र मोदीसँगको वार्तापछि भारत–अमेरिका व्यापार सम्झौतामा सहमति भएको घोषणा गरे। यस सम्झौताअनुसार अमेरिकी बजारमा भारतीय सामानमा लाग्ने प्रतिशोधात्मक कर २५ प्रतिशतबाट घटाएर १८ प्रतिशत बनाइनेछ।
प्रधानमन्त्री मोदीले यस निर्णयप्रति खुशी व्यक्त गर्दै ‘मेड इन इन्डिया’ उत्पादनलाई ठूलो फाइदा पुग्ने बताए र भारतका १.४ अर्ब जनताको तर्फबाट राष्ट्रपति ट्रम्पलाई धन्यवाद दिए।










