ईण्डियन गोर्खा कम्पनी इस्राएल फाउण्डेसनको सहयोगमा लोवर चुङथुङमा असहाय वृध्द दम्पत्तिको नयाँ घर निर्माण गरेर हस्तान्तरण

IMG-20260119-WA0127

दार्जिलिङ: ईण्डियन गोर्खा कम्पनी इस्राएल फाउण्डेसनको सहयोगमा साथै एचटिभी खरसाङको सौजन्यमा चुङथुङ मारेबुङ समष्टि अन्तर्गत लोवर चुङथुङमा रहेको बढाटार निवासी कुमार लिम्बु उर्फ खड्कबहादुर लिम्बुको नयाँ घर निर्माण गरेर सोमवार हस्तान्तरण गरिएको छ। उक्त दम्पत्ति पति कुमार लिम्बु र पत्नी डोमा तामाङको घर अत्यन्तै जीर्णावस्थामा रहेको थियो जसलाई एचटीभी खरसाङको प्रतिनिधि एंव पत्रकार अमरजीत स्याङ्देनले न्युजको क्रममा देखेका थिए र उक्त जीर्णावस्थामा रहेको घरलाई नयाँ मरमत्तिको लागि पहल गरिएको थियो। यसको लागि एचटिभीका निर्देशक राजेन्द्र तामाङले पहल गर्दै उनकै संस्था ईण्डियन गोर्खा कम्पनी इस्राएल फाउण्डेसनको सहयोगमा निर्माण गरिएको छ। उक्त नयाँ घरको सोमवार उदघाटन गरेर वृध्द दम्पत्तिलाई गृह प्रवेस गराइएको छ।‌ यस अवसरमा कुमार लिम्बुको दम्पत्तिलाई पुरानो घरबाट नयाँ घरमा पूजा अर्चनासहित सारिएको छ भने अतिथिहरुका बाहुलीबाट खदार्पण गरेर बधाई पनि दिइएको छ। यस अवसरमा अतिथिको रुपमा प्रेस क्लब अफ् खरसाङको सभापति एवं वरिष्ठ पत्रकार मुरारीलाल पञ्चम, पत्रकार किरण छेत्री, हनोक थापा, सुमन गुरुङ लगायत अन्यहरु उपस्थित रहेका थिए। उक्त दम्पत्तिलाई जाडोमा ओढ्ने ओछ्याउने लुगाहरु विकरन फाउण्डेशनको तर्फबाट सहयोग गरिएको जानकारी प्राप्त भएको छ।‌ चुङथुङ ग्राम पञ्चायतको लोवर चुङथुङ अन्तर्गत बढाटार गाउँ एकदमै पछाडिएको गाउँ रहेको र यहाँ केवल ५-६ वटा घरहरु मात्रै रहेको अनि कुमार लिम्बु उर्फ खड्कबहादुर लिम्बुको दम्पत्ति पनि विगत धेरै वर्षदेखि जीर्णावस्थामा रहेको घरमा बस्दै आईरहेका थिए। यी दम्पत्तिको जीर्णावस्थामा रहेको घरको अवस्था देखेर पत्रकार अमरजीत स्याङ्देनले निर्देशक राजेन्द्र तामाङलाई भनेपछि उनको पहलमा ईण्डियन गोर्खा कम्पनी इस्राएल फाउण्डेसनको सहयोगमा विगत १८-१९ दिन लगाएर दुईवटा‌ कोठाको नयाँ घर निर्माण गरेर दम्पत्तिलाई हस्तान्तरण गरिएको छ।‌ अब केही दिनमा नयाँ घरको बाँकी रहेको सबै कामहरु पनि पूरा गरिने र बिजुली बत्तीको पनि जडान गरिने भएको छ। उक्त दम्पत्तिको नयाँ निर्माण र उदघाटन विषयमा पत्रकारहरुसित कुराकानी गर्दै एचटिभीका खरसाङको निर्देशक एंव ईण्डियन गोर्खा कम्पनी इस्राएल फाउण्डेसनको संयोजक राजेन्द्र तामाङ र अमरजीत स्याङ्देनले विस्तृत रुपमा जानकारी गराउँदै सहयोग गर्नेहरु सबैलाई विशेष धन्यवाद दिएका छन्। उल्लेखनीय छ, ईण्डियन गोर्खा कम्पनी इस्राएल फाउण्डेसनको तर्फबाट धेरैलाई सहयोग गरिरहेको र वर्ष २०२५-२६ मा महासहयोग अन्तर्गत असहायहरुका नयाँ घर निर्माण गर्ने कार्य भईरहेको र यसै क्रममा कुमार लिम्बु उर्फ खड्कबहादुर लिम्बुको नयाँ घर निर्माण गरिएको राजेन्द्र तामाङले बताए। उनले बताए अनुसार आगामी दिनमा पनि यस्तै असहायहरुको नयाँ घर निर्माण र अन्य सहयोगको कार्य जारी रहने भएको छ।

About Author

Advertisement