पत्रकार महासंघको ३७औँ स्थापना दिवसमा फोटो पत्रकार विमलीद्वारा १२०औँ पटक रक्तदान

IMG-20251224-WA0096

बिर्तामोड: नेपाल पत्रकार महासंघ झापा शाखाले आफ्नो ३७औँ स्थापना दिवसको अवसरमा बुधबार रक्तदान कार्यक्रम तथा झण्डोत्तोलन सम्पन्न गरेको छ।
झापामा पछिल्लो समय देखिएको रगतको अभावलाई मध्यनजर गर्दै मानवीय सेवामा योगदान पुर्‍याउने उद्देश्यले स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरिएको महासंघले जनाएको छ। बिर्तामोडस्थित अतिथि सदनमा सम्पन्न कार्यक्रममा ५५ जनाले रक्तदान गरेका छन्।
महासंघ झापाका अध्यक्ष एकराज गिरीको अध्यक्षता तथा नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो। प्रमुख अतिथि ढकालले ‘दानमध्ये महादान’ मानिने रक्तदान कार्यक्रम आयोजना गरेर पत्रकार महासंघ झापाले मानवताको सेवामा महत्वपूर्ण योगदान दिएको भन्दै प्रशंसा गरे। उनले स्वस्थ नागरिकले नियमित रूपमा रक्तदान गर्नुपर्ने आवश्यकता औँल्याए।
ब्लड डोनर्स सोसाइटी झापाको सहकार्य तथा नेपाल रेडक्रस सोसाइटी झापा शाखा र बिर्तामोड उपशाखाको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम सम्पन्न गरिएको हो।


कार्यक्रममा महासंघ झापाका संस्थापक सचिव तथा पूर्व अध्यक्ष तारा बराल, पूर्व अध्यक्षहरू कृष्ण हुमागाँई र गणेश पोखरेल, चेम्बर अफ कमर्श झापाका अध्यक्ष ओमकृष्ण विमली, रोटरी क्लब अफ बिर्तामोड मिडटाउनकी अध्यक्ष पुष्पाञ्जली सिन्हा, प्रेस सेन्टर झापाका अध्यक्ष पुष्प खड्का, सञ्चारिका समूह झापाकी अध्यक्ष लीला अनमोललगायतले शुभकामना व्यक्त गरे। वक्ताहरूले व्यवसायिक, मर्यादित र तथ्यपरक पत्रकारितामा जोड दिएका थिए।
उपाध्यक्ष सुब्रत न्यौपानेले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमको सञ्चालन सचिव राजु पाठकले गरेका थिए। झापा ब्लड डोनर्स सोसाइटीका अध्यक्ष विष्णु आचार्य, संस्थापक रमेश दाहाललगायतले कार्यक्रम संयोजनमा भूमिका निर्वाह गरेका थिए।
रक्तदान कार्यक्रममा नेपाल प्रहरी, सशस्त्र प्रहरी, जेन–जी युनाइटेड मुभमेन्ट नेपाल झापा, पत्रकार, विद्यार्थी तथा विभिन्न क्षेत्रका सर्वसाधारण सहभागी थिए। यस अवसरमा हल्दीबारी डट कमका प्रधान सम्पादक एवं राष्ट्रिय फोटो पत्रकार समूहका अध्यक्ष नेत्रविक्रम विमलीले १२०औँ पटक रक्तदान गरेका थिए।
यसैबीच स्थापना दिवसकै अवसरमा महासंघको बिर्तामोडस्थित कार्यालय भवनमा झण्डोत्तोलन गरिएको छ। संस्थापक सचिव तथा पूर्व अध्यक्ष तारा बराल, पूर्व अध्यक्ष कृष्ण हुमागाँई, वर्तमान अध्यक्ष एकराज गिरी तथा पदाधिकारी एवं सदस्यहरूको उपस्थितिमा राष्ट्रिय झण्डा र महासंघको झण्डा फहराइएको हो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement