काठमाडौं: बहुचर्चित गीत ‘काफ्ले’की गायिका झुमा लिम्बूले आफ्नो नयाँ गीत ‘कर्नाली सलल’ सार्वजनिक गरेकी छन्। गीत उनले आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक गरेकी हुन्।
कर्णाली प्रदेशको स्थानीय लवजमा आधारित यस गीतले स्थानीय परिवेश र जीवनशैली समेट्दै प्रेमलाई मुख्य विषय बनाएको छ। उमेरमै माया–प्रेम बसाल्नु राम्रो भन्ने भावका साथ गीतमा पहाडी आञ्चलिक लय प्रमुख आकर्षणका रूपमा प्रस्तुत गरिएको छ।
कर्णाली क्षेत्रका मानिसहरूले दैनिक बोल्ने शब्द र स्थानीय टोन प्रयोग भएकाले गीतले हल्का–फुल्का बोलचाल, हासखेल र सरसलिल शैलीलाई झल्काउँछ।
गीतमा हर्क साउदको शब्द तथा कालीप्रसाद बास्कोटाको संगीत रहेको छ। भिडियोमा अनिल सुब्बा र निर्मला लिम्बूले अभिनय गरेका छन् भने निर्देशन कृजन महतको रहेको छ।
करिब दशकयता झुमाले गीत गाउँदै आए पनि भिडियो भने पहिलो पटक निर्माण गरिएको हो। भिडियोमा कलर ग्रेडिङ र दृश्य प्रस्तुति पनि प्रशंसनीय देखिन्छ।
भिडियो लिङ्क: https://www.youtube.com/watch?v=QCTK9u9avC0










