जापान–चीन तनाव बढ्दा अमेरिकाको सक्रियता, सैन्य अभ्यासले अवस्था संवेदनशील

8fd8f366c0fd9c5fe3e5554d0b71ba37

टोक्यो: चीनको आक्रामक गतिविधि बढेसँगै जापान–चीन सम्बन्धमा तनाव चरम बिन्दुतर्फ उन्मुख देखिएको छ। योबीचमा जापानको सामरिक साझेदार अमेरिका सक्रिय रूपमा संलग्न भएपछि अवस्थालाई सुरक्षा विश्लेषकहरूले संवेदनशील मानिरहेका छन्।
अमेरिकी सामरिक बमवर्षक विमानहरूले जापानी लडाकु विमानसहित संयुक्त सैन्य अभ्यास सञ्चालन गरेका छन्। जापानको हवाई क्षेत्र नजिक दुवै देशबीचको सैन्य समन्वय प्रदर्शन गर्ने उद्देश्यले गरिएको यो अभ्यास जापान–चीनबीचको बढ्दो तनावकै बीचमा सम्पन्न भएको हो।
अभ्यास हुनु एक दिन अघि नै चिनियाँ र रुसी बमवर्षकहरूले पश्चिमी जापान वरपर संयुक्त उडान भरेपछि जापानले आफ्नो लडाकु विमान परिचालन गर्नुपरेको थियो। यसअघि शनिबार चिनियाँ सैन्य विमानहरूले जापानी विमानमाथि रडार ‘लक’ गरेको घटनाले टोक्यो–बीजिङ सम्बन्धमा थप तिक्तता पैदा गरेको छ।
जापानी रक्षा मन्त्रालयले जनाएको अनुसार शुक्रबार बिहान जापानका रक्षा मन्त्री शिंजिरो कोइजुमी र उनका अमेरिकी समकक्ष पीट हेगसेथबीच टेलिफोन वार्ता भएको थियो। वार्तामा दुवैले हिन्द–प्रशान्त क्षेत्रको बढ्दो सुरक्षा जटिलता र तनावबारे गम्भीर चिन्ता व्यक्त गरेका थिए।
मन्त्रालयले चीनका गतिविधि क्षेत्रीय शान्ति र स्थिरताका लागि प्रतिकूल रहेको उल्लेख गर्दै जापानले आफ्नो हवाई तथा जल क्षेत्र वरपर निगरानी गतिविधि निरन्तर जारी राख्ने स्पष्ट गरेको छ।

About Author

Advertisement