गान्ताेक: राज्य यातायात विभाग अन्तर्गत सड़क सुरक्षा परिषद् र मोटर वेहिकल डिभिजनले राष्ट्रिय सूचना–विज्ञान केन्द्र (एनआईसी) सिक्किमको सहकार्यमा इलेक्ट्रोनिक डिटेल्ड एक्सिडेन्ट रिपोर्ट (ई-डीएआर), २०२५ सड़क दुर्घटना पीड़ितको क्यासलेस उपचार योजना तथा सडक सुरक्षा सम्बन्धी दुई दिने अभिमुखीकरण कार्यशालाको आयोजना गरेको छ।
राजधानीको चिन्तन भवनमा आज भएको उद्घाटन समारोहमा यातायात विभागका सल्लाहकार मदन सिन्चुरी मुख्य अतिथि थिए। आफ्नो सम्बोधनमा सिन्चुरीले सडक तथा शहरलाई सुरक्षित बनाउने उद्देश्यले विभागले निरन्तर प्रयास गर्दै आएको बताए। उनले मन्त्रालयको निर्देशनअनुसार तीन प्रमुख पहलहरू—आईआरएडी, ई-डीएआर र सड़क दुर्घटना पीड़ितको क्यासलेस उपचार योजना—सफलतापूर्वक लागू भईरहेको जानकारी दिए।
सिन्चुरीले सिक्किममा पहिलोपटक सड़क दुर्घटनासम्बन्धी विवरण एकीकृत डिजिटल डेटा प्रणालीमार्फत व्यवस्थित रूपमा व्यवस्थापन भैरहेको बताए। यस प्रणालीमा पुलिस, यातायात, राजमार्ग तथा स्वास्थ्य विभागले साझा डेटा तयार पारेका छन्, जसले दुर्घटना-संवेदनशील क्षेत्र र ब्लाइन्ड स्पटहरू पहिचान गर्न सहयोग पुर्याएको छ। यसले सरकारलाई सडक संरचना सुधार र प्राथमिकता निर्धारणमा पनि मद्दत गरेको छ।
सल्लाहकार सिन्चुरीले दुर्घटना पीड़ितको क्यासलेस उपचारको महत्त्व व्याख्या गर्दै दुर्घटनाको मितिदेखि सात दिनभित्र अधिकतम रु.१.५ लाखसम्म निःशुल्क उपचार उपलब्ध गराउने व्यवस्था रहेको जानकारी गराए। उनले योजना गोल्डेन आवरमा जीवनरक्षक उपचार सुनिश्चित गरी मृत्यु दर घटाउने उद्देश्यले लागू गरिएको उल्लेख गरे।
कार्यशालाले पुलिस, यातायात, स्वास्थ्य र सडक स्वामित्व भएका निकायहरूबीच समन्वय मजबुत बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिएको छ। सिन्चुरीले दुर्घटनापछि क्यासलेस उपचार सहज उपलब्ध गराउन सबै विभागहरूको एकीकृत प्रयास आवश्यक रहेको पनि जोड दिए।









