गान्तोक: प्रेस क्लब अफ् सिक्किम (पीसीएस) ले असमको दिफुका वरिष्ठ पत्रकार सैदुल इस्लामको आइतबार सिक्किममा असामयिक निधन भएकोमा गहिरो शोक व्यक्त गरेको छ। पीसीएसले शोकसन्तप्त परिवार, सहकर्मी र इष्टमित्रहरूप्रति ऐक्यबद्धता व्यक्त गरेको छ।
पीसीएसका प्रचार सचिव पंकज ढुङ्गेलद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ, इस्लाम हिल्स भ्यू टुडेका संस्थापक र गण अधिकारका संवाददाता थिए र पहिले ईटीभी भारत र असम टाइम्स पोस्टसँग समेत काम गरिसकेका थिए। उनी कार्बी आङ्लोङका वरिष्ठ पत्रकारहरूसँग सिक्किम भ्रमणमा आएका थिए। पत्रकारहरूको समूह ३० नोभेम्बर अबेर राति सिक्किम आइपुगेको थियो।
डेनियलसन बेका, कार्बी आङ्लोङ जिल्ला प्रेस क्लबका कार्यवाहक अध्यक्षका अनुसार टोलीले १ डिसेम्बरदेखि भ्रमण सुरु गरेको थियो र दिनको शुरुवात स्थानीय झरनाबाट गरेको थियो। तर, दिउँसो करिब १२:४० बजे इस्लाम गान्तोकको बोझोघारीस्थित गोन्जाङ गुम्पा नजिकै बेहोश भएर ढले। सहकर्मीहरूले उनलाई हृदयघातको आशंकामा तुरुन्तै एसटीएनएम अस्पताल पुर्याए, तर बाटोमै उनको निधन भयो।
दुर्भाग्यपूर्ण घटनापछि भ्रमणमा रहेका पत्रकारहरूले बाँकी चार दिनको भ्रमण रद्द गरे। इस्लामको परिवार पनि सोमबार बिहानै सिक्किम आइपुगे। परिवारका अनुसार उनले लामो समयदेखि मुटु सम्बन्धी रोग, छाती दुख्ने, मधुमेह र उच्च रक्तचापलगायत स्वास्थ्य समस्याहरू भोग्दै आएका थिए।
पीसीएसले सिक्किम सरकार र अस्पताल अधिकारीहरूको तत्काल सहयोग, पोस्टमार्टमसहित आवश्यक प्रक्रिया ढिलाइ नगरी सम्पन्न गरिएकोमा सराहना गरेको छ। शव शोकसन्तप्त परिवारलाई हस्तान्तरण गरी एम्बुलेन्समार्फत असम पठाइएको छ।
पीसीएसले शोकको यस घडीमा सैदुल इस्लामको परिवार, कार्बी आङ्लोङको जिल्ला प्रेस क्लब र शोकसन्तप्त पत्रकार समुदायप्रति पूर्ण ऐक्यबद्धता व्यक्त गरेको छ।










