डा. योगेश खाती बने सोनादा डिग्री कलेजका नयाँ प्राचार्य

IMG-20251202-WA0094

खरसाङ: खरसाङ महाविद्यालयका प्राध्यापक डा योगेश खाती सोनादा डिग्री कलेजका नयाँ प्राचार्य नियुक्त भएका छन्। कालेबुङ जिल्लाको ४२ नम्बर समष्टिभित्र पर्ने कफेर काङ्केबुङ ग्राम पञ्चायत अन्तर्गत मुन्थुम बस्तीमा जन्मिएका डा योगेश खाती सोनादा डिग्री कलेजका नयाँ प्राचार्य बनेका छन्। पश्चिम बङ्गाल कलेज सर्भिस कमिसन उत्तीर्ण गरेर उनले सोनादा डिग्री कलेजमा पूर्णकालिक प्राचार्यको भार ग्रहण गरेका छन् । पिता स्व बलराम खाती अनि माता स्व. फिलोमिना मलोमूको माइला छोरा डा. योगेश खाती यस ग्राम पञ्चायतबाट कलेजका प्राचार्य बन्ने पहिलो व्यक्ति हुन्। ४२ नम्बर समष्टिबाट विगतमा डा जीएस योञ्जन अनि डा. आरबी भुजेल क्रमैले कालेबुङ कलेज अनि क्लुनी महिला महाविद्यालय-बिजनबारी डिग्री कलेजका प्रिन्सिपल बनिसकेका छन्। डा. खातीले आफ्नो शैक्षिक अध्यापन दार्जिलिङको एक प्रतिष्ठित स्कूल सेन्ट पवल्स स्कूल, दार्जिलिङबाट सन् २००३ देखि शुरू गरेका थिए भने सन् २००६ देखि यता उन्नाइस वर्षसम्म खरसाङ महाविद्यालयमा प्राध्यापन गरिरहेका थिए। विभिन्न विश्वविद्यालय अनि शैक्षिक संस्थानहरूसित प्रशासनिक अनि परामर्श सदस्यका रूपमा संलग्न रहेका डा. योगेश खाती, वर्तमानमा स्नातकोत्तर नेपाली विभाग खरसाङ महाविद्यालयका हेड अफ् द डिपार्टमेन्ट साथै एसोसिएट प्रोफेसर थिए। हालै संविधान दिवसका दिन भारतकी राष्ट्रपतिद्वारा लोकार्पण गरिएको भारतीय संविधानका नेपाली अनुवादकहरूमध्ये डा खाती पनि एकजना अनुवादक हुन्। आफ्नै माता पिता शिक्षक शिक्षिका रहेका गाउँका कृष्ण दिवस प्राथमिक पाठशालाबाट अध्ययन प्रारम्भ गर्दै उनले सन्त जर्ज स्कूल पेदोङबाट कक्षा बाह्रसम्मको अध्ययन अनि सन्त जोसेफ कलेज नर्थ पोइन्ट दार्जिलिङबाट अनर्स साथै उत्तर बङ्गाल विश्वविद्यालयबाट एमए र पिएचडी पूर्ण गरेका हुन्। डा. योगेश खाती, भारतीय नेपाली साहित्यमा एकजना समालोचक व्यक्तित्वका रूपमा पनि चिनिन्छन्। उनका अध्ययन अनि लेखनमा अन्तर्विषयक दृष्टिकोण पाइन्छ। उनले अहिलेसम्म-
(क) भारतीय साहित्यका निर्माता-तुलसीबहादुर छेत्री ‘अपतन’, मोनोग्राफ (साहित्य अकादमी, नयाँ दिल्ली, सन् २०२१), (ख) अध्ययन आवर्तन, समालोचना सन् (२०२२), (ग) को?, अनुवाद नाटक, (सन् २०२३) अनि केही पुस्तकहरू सम्पादन गरेका छन्। उनले राष्ट्रिय अनि अन्तर्राष्ट्रिय तहका धेरै सङ्गोष्ठीहरूमा भाग लिएर नेपाली अनि अङ्ग्रेजी भाषामा आफ्ना अन्तर्विषयक अध्ययनका कार्यपत्रहरू प्रस्तुत अनि प्रकाशन गरिसकेका छन्। साहित्यबाहेक सङ्गीतमा पनि उनको विशेष रूची रहेको छ।
​विभिन्न विश्वविद्यालय तथा शैक्षिक संस्थाहरूमा प्रशासनिक अनि परामर्श सदस्यका रूपमा समेत संलग्न रहेका डा. खातीले आफ्नो यस नयाँ जिम्मेवारीलाई सहर्ष स्वीकार गर्दै सोनादा डिग्री कलेज अनि यस क्षेत्रको शैक्षिक उन्नति अनि उत्तरोत्तर प्रगतिमा आफु समर्पित रहने विशेष चाहना व्यक्त गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement