खरसाङ: खरसाङ ब्याडमिन्टन एसोसिएसनको तत्वधानमा प्रथम खरसाङ महकुमा स्तरीय अन्तर विद्यालय ब्याडमिन्टन प्रतियोगिताको आयोजना गरियो। यस प्रतियोगितामा खरसाङ महकुमा अन्तर्गत विभिन्न विद्यालयहरूका विद्यार्थीहरुले अंशग्रहण गरेका थिए। पूर्वान्हमा खरसाङ नगरपालिका उपाध्यक्ष श्री सुवास प्रधानले दीप प्रज्ज्वलन गरेर कार्यक्रमको शुभारम्भ गरे। खरसाङ पार्क लोकेसन स्थित एसोसिएसनको हलमा आयोजित यस कार्यक्रमलाई अनुसार लामाले सन्चालन गरेकी थिइन् भने कार्यक्रममा धेरै विशिष्ट अतिथिहरूको पनि उपस्थिति रहेको थियो जसमा गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनका सभासद नुरी शेर्पा, सभासद श्याम शेर्पा, खरसाङ नगरपालिकाका पूर्वाध्यक्ष समीर दीप ब्लोन, दार्जिलिङ गोर्खा हिल ब्याडमिन्टन एसोसिएसनका महासचिव शिशिर मोक्तान, तकनिकी प्रबन्धक मनिस छेत्री साथै खरसाङ फूटबल एसोसिएसनका पदाधिकारीहरु मुख्य रुपमा उपस्थित थिए। यसै कार्यक्रमको उपलक्ष्यमा बंगाल प्यारालिम्पिक एसोसिएसनद्वारा आयोजित ‘बंगाल प्यारा स्टेट गेम्स २०२२” मा दार्जिलिङ जिल्लालाई नै प्रतिनिधित्व गर्दै ब्याडमिन्टन प्रतियोगिताको विभिन्न वर्गमा क्रमैले रजत अनि काँस्य पदक प्राप्त गरेका खरसाङ बुद्ध ग्राम निवासी सुरेन प्रधानलाई पनि खरसाङ ब्याडमिन्टन एसोसिएसनको तर्फबाट सम्मान सम्वर्द्धना जनायो। अन्तर विद्यालय ब्याडमिन्टन प्रतियोगिताको अन्डर १३ वर्ष एकल (गर्ल्स) वर्गमा डाउहिल स्कूलका प्रियंका प्रधान विजेता रहे भने यसै स्कूलका एन्जेल तामाङ उप-विजेता रहे। अन्डर १३ वर्ष (बोइज) वर्गमा गोथल्स मेमोरियल स्कूलका निगेल राई विजेता रहे भने यसै स्कूलका नमन राई उप-विजेता बने। यसैगरी अन्डर १६ वर्ष (गर्ल्स) को खिताब पनि डाउहिल स्कूलका प्रियंका प्रधानले सेन्ट अगस्टिन स्कूलका मौसमी कुमारीलाई हराएर प्राप्त गरिन् भने अन्डर १६ डबल्स (गर्ल्स) मा पनि डाउहिल स्कूलका छात्रा प्रियंका प्रधान अनि एन्जेल तामाङले जिते। यसैगरी प्रतियोगिताको अन्डर १६ (बोइज) एकलमा गोथल्स मेमोरियल स्कूलका आर्यन थापा विजेता रहे भने सन्त अल्फन्सका रोहन प्रसाद उप-विजेता रहे साथै डबल्समा रोहन प्रसाद अनि विशाल कुमार दास विजयी बने। अन्डर १९ (गर्ल्स) एकलमा हिमाली वोर्डिङ स्कूलका स्रद्धा प्रधानले यसै स्कूलका धियासा छेत्रीलाई फाइनलमा हराएर विजयी बने भने अन्डर १९ (गर्ल्स) डबल्समा यी दुईको जोड़ीले खिताब हासिल गरे।

प्रतियोगिताको अन्डर १९ एकल (बोइज) वर्गमा सन्त अगस्टिन स्कूल का अमित राजले अनि डबल्स वर्गमा हिमाली वोर्डिङ स्कूलका गुन्जन लोहार अनि निरोव शेखले विजय प्राप्त गरे। खरसाङका प्रतिष्ठित ‘त्रिवेणी नेटवर्क’ ले कार्यक्रमको शुरूदेखि प्रसारण गरेका थिए। यस प्रतियोगिता आयोजक समितिका अध्यक्ष पेमेन्द्र गुरुङ अनि सचिव पियुष राईले कार्यक्रमको भव्य सफलताका निम्ति आयोजक समिति लगायत एसोसिएसनका सबै सदस्यवर्ग, प्रतियोगिताको निम्ति प्रदान गरिएका ट्रफीहरुका सबै प्रायोजकवर्ग, विभिन्न प्रतिभागी विद्यालयहरुका प्रधान अध्यापक, अध्यापिका, शिक्षक-शिक्षिका साथै विद्यार्थीवर्ग, खरसाङ त्रिवेणी नेटवर्क अनि आमन्त्रित अतिथि वर्ग अनि सहयोगीहरुप्रति हार्दिक आभार प्रकट गरेका छन्।