कालेबुङ: नेपाली सङ्गीत आकाशबाट एक उज्यालो नक्षत्र फेरि अस्त भएको छ। कालेबुङ जिल्ला अन्तर्गत गैरीबास औषधि बगानका प्रतिष्ठित गायक-सङ्गीतकार प्रसाद रनपहेंली अब शरीरले रहेनन्। अकस्मात मस्तिष्काघातको कारण उनलाई गैरीबासबाट सिलगढी ल्याई एउटा नीजि नर्सिङ होममा भर्ना गरिएको थियो जहाँ उपाचार अवधिमा उनको निधन भएको छ। उनको पार्थिव शरीरलाई गैरीबासमा अन्तिम संस्कार गरियो। प्रसाद रनपहेंलीको नेपाली सङ्गीतको क्षेत्र साथै समाज सेवामा ठूलो योगदान रहेको छ। प्रसाद रनपहेंलीको सङ्गीत रचनामा अरूणा लामा, लासिमित लेप्चा, रामकृष्ण ढकाल, उदय-मनिला सोताङ, महेश सेवा लगायत विभिन्न प्रतिष्ठित अनि अनेक उदीयमान कलाकारहरूले गाएका छन्। उनले साई सरगम, सौगात, सौभाग्य र सृजनाजस्ता लोकप्रिय गीति एल्बमहरू श्रोताहरूलाई उपहार चढाएका छन्। श्रोताले अति मन पराएका उनका अनेक प्रचलित गीतहरू छन्। केही गीतहरूमा- स्व. वीरबल विश्वको शब्द र रामकृष्ण ढकालको स्वरमा – मेरो गीत नै उपहार हो…, शब्दकार भक्त जैरूको रचना र उदय सोताङको स्वरमा – पिउँदिनँ सुरा मुहानको…, गीतकार कमल रेग्मीको रचना र रामकृष्ण ढकाल अनि लासिमीत राईको युगल स्वरमा गाइएको गीत – टिस्टा तरेर लानु के छ जाँदा मरेर…, शब्दकार मनोज बोगटीको रचना र देवनारायण प्रधानको स्वरमा – त्यही बोलीमा गाली पनि, त्यही बोलीमा माया…, गीतकार कालूसिंह रनपहेंलीको शब्द रचना र महेश सेवाको स्वरमा – गोर्खालीको उचाइलाई टोपीसितै नाप… तथा रामकृष्ण ढकालको आवाजमा – पूजाको मन्दिर तोड़िदेऊ….. आदि हुन्। माता जगमाया रनपहेंली र पिता कर्णबहादुर रनपहेंलीको कोखबाट २९ मई, १९६०को दिन जन्मेका प्रसाद रनपहेंली गैरीबास औषधि बगानमा प्लान्टर पदबाट दुई सालअघि अवकाश ग्रहण गरेका थिए। नवोदित कलाकारहरूका निम्ति प्रसाद उर्जा र प्रेरणाका स्रोत थिए। परिवार, सन्तान, साथीभाइ र समाजका निम्ति उनी एक आदर्श र उदाहरणीय व्यक्ति थिए। सङ्गीत अनि समाजसेवामा समर्पित प्रसाद रनपहेंली सबैका आस्थाका किरण थिए। उनको आकस्मिक निधनले गैरीबास, रोङ्गो, वरिपरि क्षेत्र अनि नेपाली सङ्गीत संसार नै शोकको लहरमा डुबेको छ। उनको अन्त्येष्टि कार्य आगामी ३० सितम्बर शुक्रबारको दिन गैरीबास सामुदायिक भवनमा हुने परिवार सूत्रले जानकारी दिएका छन्।










