खरसाङमा स्रष्टा आशा मुखिया लामाको एकसाथ चारवटा पुस्तकहरुको लोकार्पण सम्पन्न

IMG-20251119-WA0116

खरसाङ: खरसाङकी स्रष्टा, समाजसेवी, सांस्कृतिक अभियन्ता एवं साहित्य अकादमी नेपाली भाषा परामर्श समितिकी सदस्या आशा मुखिया लामाद्वारा लिखित चारवटा कृतिहरुको लोकार्पण बुधवार खरसाङमा सम्पन्न भएको छ। उनको चारवटा पुस्तकहरु क्रमैले ‘अध्ययन अनुभूति’ (समीक्षात्मक लेख संग्रह), ‘संवेग अक्षर’ (कविता संग्रह), ‘गोपालसिंह नेपालीका केही कविता अनि गीतहरु’ (सम्पादन) र ‘भारतीय नेपाली संस्कार औं संस्कृति'(सांस्कृतिक संकलन) लोकार्पण गरिएको छ। गोर्खा जनपुस्तकालय खरसाङको डा. पारसमणि प्रधान प्रेक्षागृहमा सम्पन्न उक्त चारवटा पुस्तकहरुको लोकार्पण कार्यक्रमको अध्यक्षता वरिष्ठ साहित्यकार एंव गोर्खा जनपुस्तकालय खरसाङको पूर्व अध्यक्ष पूर्ण गुरुङ ‘निरुपम’ ले गरेका थिए भने प्रमुख अतिथिको रुपमा साहित्यकार,‌समालोचक एंव खरसाङ महाविद्यालयका प्राध्यापक डा. योगेश खाती उपस्थित रहेका थिए। कवि एवं पत्रकार हनोक थापाले सञ्चालन गरेको कार्यक्रममा विशिष्ट अतिथिको रुपमा मङ्पुका वरिष्ठ साहित्यकार सुरेन्द्र थिङ्ग, गोर्खा जनपुस्तकालय खरसाङको उपाध्यक्ष प्रकाश प्रधान र गोजपुका मूल सचिव एवं कवि विनोद रसाइली उपस्थित रहेका थिए। अतिथिहरुका बाहुलीबाट धुप दीप प्रज्ज्वलन गरी थालिएको कार्यक्रममा स्वागत सम्भाषण गोर्खा सांस्कृतिक संस्थान् खरसाङकी सचिव प्रनिता मुखिया घिसिङले राखेकी थिइन्। उक्त लोकार्पण कार्यक्रममा स्रष्टा परिचय हनोक थापाले राखेका थिए। उक्त कार्यक्रममा नै सभाध्यक्ष, प्रमुख अतिथि, विशिष्ट अतिथिहरु, स्रष्टा आशा मुखिया लामा र प्रकाशक एंव उनको पति पारस लामा आदिको बाहुलीबाट चारवटा पुस्तकहरुको लोकार्पण गरिएको छ। उक्त लोकार्पण गरिएको चारवटा पुस्तकहरुमध्ये दुई – दुईवटा पुस्तकहरु लोकार्पण गरिएको घोषणा सभाध्यक्ष र प्रमुख अतिथिको तर्फबाट गरिएको छ। कार्यक्रममा लोकार्पण गरिएको पुस्तकमध्ये कविता संग्रह ‘संवेग अक्षर’माथि कवि विनोद रसाइलीले टिप्पणी राखेका थिए। उनले गोर्खा जनपुस्तकालयमा एकसाथ चारवटा पुस्तकहरुको लोकार्पण गरिएको यो पहिलो अवसर रहेको बताएका छन्‌। उनले भने, म कविता लेख्ने मान्छे हो तर कविताको सैध्दान्तिक पक्ष र समीक्षात्मक कुरा गर्ने भएको छुइन। संवेग अक्षरमा कविताको‌ तत्वहरु पाइन्छन्। स्रष्टा आशा मुखिया लामाले समाजमा देखिएका विभिन्न समस्याहरु लेखेकी छिन्। कवितामा सामाजिक सरोकारका कुराहरु छन्। आशा मुखिया लामा बहुगुण र बहुप्रतिभाशाली व्यक्तित्व हुन् जसले समाजमाथि, संस्कृतिमाथि र साहित्यमाथि कार्य गरिरहेका छन्।’
कवि विनोद रसाइलीले अघि भने, ‘म‌ उनको कवित्वमाथि होइन तर व्यक्तित्वमाथि बोल्न चाहान्छु। उनको कविताहरु सरल छन्।‌ प्रतिक र विम्बका भरमार छैनन्। उनी सामाजिक सरोकार र समस्या देखेर कविता लेख्छन्।’
त्यसरी नै विशिष्ट अतिथि वरिष्ठ साहित्यकार सुरेन्द्र थिङ्गले आफ्नो सम्बोधनमा आशा मुखिया लामा विभिन्न स्थानहरुमा आबध्द रहेर पनि लेखनमा पनि सक्रिय छन भनी बताएका छन्। उनले खरसाङ अहिले पुनः साहित्य लेखनमा सक्रिय हुन थालेको बताउँदै आफु पनि कविता लेखनमा सिक्दैछु भनी बताएका छन्। उनले भने, म कविताको दास हुँ। कविताको शब्द र अक्षरहरूले‌ जहाँ राख्नु भन्छ त्यही राख्ने व्यक्ति हुँ।’
कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै डा. योगेश खातीले आशा मुखिया लामाले एकसाथ चारवटा पुस्तकहरु दिएर खरसाङको ऐतिहासिक दस्तावेज बनेको बताए। उनले भने, ‘स्रष्टाले यी चारवटा पुस्तकहरु विभिन्न समयहरुमा लेखेका‌ छन्। उनले आफ्नो लेखनलाई स्वीकार गरेका छन् अनि लेखकको ठूलो गुण नै स्वीकार गर्नु हो। सिर्जनात्मक कार्यहरुले हाम्रो यात्रा यसरी नै लगातार अघि बढिरहोस्।’
सभाध्यक्ष वरिष्ठ साहित्यकार पूर्ण गुरुङ ‘निरुपम’ ले आशा मुखिया लामा भारतीय नेपाली साहित्यको सशक्त नारी हस्ताक्षर मात्र होइन तर सांस्कृतिक सचेतक पनि हुन् भनी बताएका छन्। उनले भने, ‘आशा मुखिया लामाले संस्कृतिमाथि धेरै काम‌ गरिरहेकी छिन्। संस्कृतिमाथि निरन्तर काम गर्ने र लेख्नेहरु कम छन् जसमा आशा मुखिया लामा एक हुन्। उनले संस्कृतिलाई जगेरा गर्न र संस्कार विषयमा लगातार रुपमा कार्य गरिरहेका छन्। संस्कृति र संस्कार विषयमा एउटा कोष नै तयार पारिदिने अनुरोध छ जसबाट संस्कृति बाँच्न सहयोग गर्छ।’
कार्यक्रममा स्रष्टा आशा मुखिया लामाले आफ्नो सम्बोधनमा एकसाथ चारवटा पुस्तकहरुको लोकार्पण कार्यक्रममा विभिन्न स्थानहरुबाट उपस्थित सबैलाई धन्यवाद दिएका छन्। उनले यी कृतिहरु सबैले पढिदिने आशा व्यक्त गरिन्। उनले चारवटा पुस्तकहरु लेखन र प्रकाशन विषयमा विस्तृत जानकारी गराएका छन्। यस लोकार्पण कार्यक्रममा सिक्किम, दार्जिलिङ, मिरिक, मङ्पु, खरसाङ क्षेत्रबाट साहित्यकारहरु उपस्थित रहेका थिए। स्रष्टा आशा मुखिया लामाको यी चारवटा पुस्तकहरुबाहेक पनि २०१९ मा ‘रहर अक्षर'(रचना संकलन), २०२१ मा ‘गाडधन’ (रचना संकलन) र २०२३ मा ‘चिसो मरुभूमितिर’ (यात्रा संस्मरण) आदि प्रकाशित छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement