जीटीए प्रमुख कार्यपाल अनित थापाद्वारा खरसाङ क्षेत्रमा ३ वटा नयाँ पक्की सडकको शिलान्यास

खरसाङ: गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन, पश्चिम बंगाल ग्रामीण विकास विभाग, दार्जीलिङ डिभिजनको पहलमा तीनवटा परियोजनाको शिलान्यास जीटीएको मुख्य कार्यपाल अनित थापाको बाहुलीबाट सम्पन्न भयो। बुधबार शिलान्यास गरिएको परियोजनाहरूमा सन्त मेरिज एक खण्ड खरसाङमा कोयला गोदामदेखि एम १ ब्लकसम्म १.८३५ किलोमिटर बाटो निर्माण कार्य हुने भएको छ। यस परियोजना झण्डै १.५ करोड बजेटमा पूर्ण हुनेछ। त्यसरी नै सिटोङ २ मा रू ९४.३२ लाखमा निर्माण हुने कोइला गोदाम-जोगीघाट रोडको नरमान गोलाईदेखि शिव मन्दिरसम्म पुग्ने ७०० मिटर लामो सडक निर्माण कार्य अनि २ करोड ३० लाखमा पूर्ण हुने भएको छ। त्यसरी नै पञ्चायात अफिसदेखि बिजय सेनको घरसम्म पुग्ने ३ किलोमीटर बाटो निर्माण कार्य हुने भएको छ। शिलान्यास कार्यक्रममा नुरी शेर्पा, सभासद, पुल तथा यातायात विभाग, जीटीए साथै कार्यकारी अभियन्ता डब्लूबीएसआरडीए दार्जीलिङ डिभिजन र पञ्चायत सदस्यहरूको उपस्थिति रहेको थियो। शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै जीटीएको मुख्य कार्यपाल अनित थापाले भने, “जनताको माग अनुसार नै यो बाटो बनिएको हो। गाउँलाई पर्यटनतर्फ पनि लैजानुपर्छ। यहाँ मानिसहरू पनि राम्रा छन्, पौरखी छन्। यहाँबाट दृश्य पनि राम्रो देखिन्छ। यहाँको आर्थिक उन्नतिमाथि कार्य गर्नुपर्छ।

खेतीपाती गर्ने हो भने विकसित वैज्ञानिक तक्निकीको प्रयोग पनि गर्नुपर्छ। बेमौसमको फलफूल बजारमा उतार्नु सके यसको आर्थिक फाइदा धेरै हुनेछ।”

स्थानीय वासिन्दा विजेता प्रधानले बाटो निर्माण हुने पक्का भएकोमा खुसी व्यक्त गर्दै भनिन्, “बाटो राम्रो भए थापा सरले भने झैं हामी पनि हाम्रो घरको कोठा पर्यटनको निम्ति खोल्न सक्नेछौं। यहाँ सागसब्जीदेखि पशुपालन सबै हुन्छ। यहाँको वातावरण घुम्नको निम्ति अनुकूल छ। गाउँ बजारको होहल्लादेखि टाढा छ। यसको साथै बजार ३० मिनटमा नै पुग्न सकिन्छ। अनित थापाज्युलाई धेरै धन्यवाद छ।”

अर्का एक स्थानीय व्यक्ति उत्तम राईले भने, “हुन् त सांसदको चुनाव समय हामीले राजु विष्टलाई नै भोट दिएका थियौँ। उनले बाटो बनाइदिने वचन पनि दिनु भएको थियो। भोट माग्ने समयमा आउनु भए पश्चात उहाँको अनुहार देख्नु पाएका छैनौं। तर हाम्रो ठाउँबाट हारेर पनि अनित सरले हाम्रो बाटो निर्माण पारित गरिदिनु भयो। म चाहिँ अब उनको फ्याँन भए।”

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement