दार्जिलिङ: दार्जिलिङको जामुने शब्द साधना मञ्चद्वारा आयोजित छैटौँ मासिक कविगोष्ठी तथा पुस्तक‘बालमञ्जरी’ (बाल कविता सङ्ग्रह) को विमोचन कार्यक्रम आज जामुनेस्थित एक होमस्टेमा साहित्यिक माहोलका बीच सम्पन्न भयो। कार्यक्रमको प्रमुख आकर्षण कवि एम पथिकको बालकविता सङ्ग्रह ‘बालमञ्जरी’ को विमोचन थियो। पुस्तकको विमोचन शब्द साधना मञ्चका सम्पूर्ण सदस्यहरूको सामूहिक बाहुलीबाट गरिएको थियो, जसले मञ्चको सामूहिक एकता र सहकार्यको सन्देश दिएका थिए। कार्यक्रमको अध्यक्षता संस्थाका सभापति तथा हास्यकवि भक्तकुमार सुब्बाले गरेका थियो। विशेष सम्बोधनका क्रममा साहित्यकार एम पथिक र कवि कर्ण विरहले बालसाहित्यको महत्व, सिर्जनाको सामाजिक भूमिका र नयाँ पुस्तामा पठनसंस्कृति विस्तारका विषयमा प्रेरणादायी विचार प्रस्तुत गरेका थिए।
कविगोष्ठी दुई चरणमा सम्पन्न भएको थियो। यसबीच कविहरूले आफ्ना मौलिक कविता वाचन गरे भने पारस्परिक छलफल र समीक्षा पनि गरे। कार्यक्रममा नितेन्द्र खनाल, लोकनाथ शर्मा, एम पथिक, भक्तकुमार सुब्बा, राजकुमार तिम्सिना, युवराज छेत्री, कर्ण विरह, बी. घिमिरे, धिरज सुब्बा ‘धैर्य’ लगायतका कविहरूले आफ्नो कविता प्रस्तुत गरी वातावरण काव्यमय बनाएका थिए। कार्यक्रमबीच युवराज छेत्रीले मनमोहक गीत प्रस्तुत गरी उपस्थित कवि तथा साहित्यप्रेमीहरूलाई मन्त्रमुग्ध बनाएका थिए। त्यसैगरी, मञ्चको उपकोषाध्यक्ष नितेन्द्र खनालले संस्थाको आर्थिक विवरण प्रस्तुत गर्दै पारदर्शी रूपमा हिसाबकिताब सार्वजनिक गरे। कार्यक्रमको समापनमा अध्यक्ष भक्तकुमार सुब्बाले उपस्थित सबै सदस्य र अतिथिप्रति धन्यवाद ज्ञापन गर्दै शब्द साधना मञ्चले निरन्तर रूपमा साहित्यिक अभियानलाई सशक्त बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरे। यस महिनाको उत्कृष्ट कविताको पुरस्कार कवि नितेन्द्र खनालले प्राप्त गरे भने उनलाई खदा अनि स्मृतिचिन्हद्वारा सम्मानित गरियो। यसरी, शब्द साधना मञ्चको छैटौँ मासिक कविगोष्ठी तथा ‘बालमञ्जरी’ पुस्तक विमोचन कार्यक्रम सौहार्दपूर्ण, काव्यमय र प्रेरणादायी वातावरणमा सफलतापूर्वक सम्पन्न भयो।










