आरएसएस शताब्दी अवसरमा गान्तोकमा प्रमुख नागरिक संगोष्ठी

गान्तोक: राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) को १०० वर्ष पूरा भएको अवसरमा आइतबार गान्तोक छेउ रानीपुलस्थित केन्द्रिय कृषि विश्वविद्यालयको प्रेक्षागृहमा प्रमुख नागरिक संगोष्ठी आयोजना गरियो।
कार्यक्रममा संघका अखिल भारतीय सह सरकार्यवाह रामदत्त चक्रधर मुख्य वक्ताका रूपमा उपस्थित थिए। उनका अनुसार आरएसएस सन् १९२५ मा केही व्यक्तिद्वारा सुरु भएको संस्था आज विश्वकै सबैभन्दा ठूलो संस्थामध्ये एक बनेको छ। संघले देशभक्ति र आत्मसम्मानको भावना विकास गरी राष्ट्रलाई महान बनाउने उद्देश्य राखेको उनले बताए।
सह सरकार्यवाह चक्रधरले संघले हाल ४२ वटा संस्था र ४०० भन्दा बढी स्थानीय तथा राज्यस्तरका संगठनमार्फत समाजको सेवा गर्दै आएको जानकारी गराए। युद्ध र अन्य संकटहरूमा संघले राष्ट्रसेवा कसरी गरेको छ भन्ने विषयमा पनि उनले प्रकाश पारे। साथै, संघले लिएका पाँच पहल—परिवार प्रबोधन, पर्यावरण संरक्षण, स्वाभिमान, स्वदेशी र सामाजिक उत्तरदायित्व बारे जानकारी प्रस्तुत गरे।
कार्यक्रम दुई सत्रमा आयोजना भएको थियो। पहिलो सत्रमा प्रमुख वक्ताको सम्बोधन र दोस्रो सत्रमा सहभागीहरूसँग अन्तरक्रिया सम्पन्न भयो। कार्यक्रममा नागरिक समाजका विशिष्ट व्यक्तिहरू, शिक्षक, सरकारी अधिकारी, चिकित्सक, वकिल, वैज्ञानिक तथा विभिन्न संस्थाका प्रतिनिधिहरूको उपस्थिती रहेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement