विभिन्न स्थानहरुबाट ८५२ जनाले जनाए सहभागिता
खरसाङ: जिम्मेवार पर्यटनको विषय वस्तुको साथमा खरसाङ विन्टर रनको दोस्रो संस्करण आज सम्पन्न भएको छ। गत वर्षदेखि शुरु भएको खरसाङ विन्टर रनको दोस्रो संस्करण आज बिहान खरसाङको डाउहिल क्षेत्रमा भव्यताको साथमा सम्पन्न भएको छ। खरसाङ महकुमा खेलकूद संघ र एथलेटिक्स क्लब खरसाङको आयोजना तथा जीटीए, खरसाङ महकुमा, खरसाङ पञ्चायत समिति, एसबीआई, विद्युत् विभाग, खरसाङ वन विभाग, खरसाङ टुरिज्म एण्ड कन्जरभेशन आदिको सह आयोजना एंव सहयोगमा सम्पन्न भएको छ। उक्त खरसाङ विन्टर रन यसपाली पुरूष र महिला गरी जम्मा १४ वटा क्याटोगरीमा आयोजना गरिएको थियो जसमा १० किलोमिटर, ५ किलोमिटर, ३ किलोमिटर आदि रहेको थियो। पहिलो संस्करणको खरसाङ विन्टर रनमा ६०० जनाले सहभागिता जनाएका थिए भने यसपाली जम्मा ८५२ जनाले सहभागिता जनाएका छन्। उक्त दोस्रो संस्करणको खरसाङ विन्टर रन कार्यक्रममा प्रमुख अतिथिको रुपमा गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको प्रमुख कार्यपाल अनित थापा उपस्थित रहेका थिए। यस खरसाङ विन्टर रनको १५ किलोमिटरको रनरहरुलाई प्रमुख अतिथि जीटीए प्रमुख अनित थापा, राष्ट्रिय महिला फुटबल टिमका मुख्य प्रशिक्षक क्रिस्पिन छेत्री, पूर्व खरसाङ महकुमा शासक एंव रायगञ्जका अतिरिक्त जिल्लापाल आईएएस बिन्दबासिनी तेजा दिपक, वर्तमान खरसाङ महकुमा शासक प्रिया गुप्ता आदिले झण्डा देखाएर शुरु गरेका थिए। त्यसरी नै अर्को समूहलाई डीएफओ आईएफएस देवेश पाण्डे, खरसाङ पञ्चायत समिति सभापति अनु छेत्री, खरसाङ महकुमा पुलिस अधिकारी, सभासद श्याम शेर्पा अनि अर्को समूहलाई खरसाङ नगरपालिकाको चेयरम्यान ब्रिगेन गुरुङ, सभासद नुरी शेर्पा, एसबीआई सिलगढी शाखाका अधिकारी लगायत अन्यहरुका बाहुलीबाट झण्डा देखाएर रनरहरुलाई प्रस्थान गराएका थिए। यसको साथै अर्को समूहलाई कर्माध्यक्ष भक्तिमान तामाङ, पञ्चायत समिति सदस्य मौसम तामाङ, आरओ सम्पदा साधु, बिजय सिञ्चुरी, प्रेस क्लब अफ् खरसाङको सभापति एवं वरिष्ठ पत्रकार मुरारीलाल पञ्चम लगायत अन्यहरुका बाहुलीबाट झण्डा देखाएर रनरहरुलाई प्रस्थान गराएका छन्। यस खरसाङ विन्टर रनको १५ किलोमिटरको प्रतियोगीहरुलाई प्रथमलाई २५ हजार रुपियाँ नगदराशि र ५ किलोमिटरको प्रथमलाई १० हजार रुपियाँ पनि प्रदान गरिएको छ। यस कार्यक्रममा खरसाङका सुपुत्र एंव राष्ट्रिय महिला फुटबल टिमका मुख्य प्रशिक्षक क्रिस्पिन छेत्रीलाई आयोजक समितिको तर्फबाट सम्मान जनाइएको छ। खरसाङ क्षेत्रमा जिम्मेवार पर्यटनको उद्देश्यका साथमा खरसाङ विन्टर रनको आयोजना गरिएको छ। यस अवसरमा खरसाङ लगायत विभिन्न स्थानहरुबाट सहभागीहरुले उत्साहजनक रुपमा सहभागिता जनाएका थिए। यस खरसाङ विन्टर रन अन्तर्गत १५ किलोमिटरको ओपेन पुरुष वर्गमा प्रथम पञ्चनन बेरा, दोस्रो डम्बर बस्नेत, तेस्रो पुरण राई भएका छन् भने १० किलोमीटर ओपेन महिला वर्गमा प्रथम तापसी सिंह, दोस्रो प्रिया तामाङ, तेस्रो अनिता दास भएका छन्। त्यसरी नै ४५ वर्षमाथिका १० किलोमीटरको पुरुष वर्गमा प्रथम प्रवेस तामाङ, दोस्रो निमेस छेत्री, तेस्रो सुवर्ण सुब्बा चयन भएका छन् भने ४५ वर्षमाथिका १० किलोमीटरको महिला वर्गमा प्रथम सरस्वती राई, दोस्रो अनुदा तामाङ, तेस्रो निता लेप्चा भएका छन्। त्यसरी नै खरसाङ विन्टर रनको १६ वर्षमुनिका बोइसमा १० किलोमीटर वर्गमा प्रथम इसाद तामाङ, दोस्रो सोयाङ तामाङ र तेस्रो समलाहाङ राई चयन भएका छन्।
यसै क्रममा १६ वर्षमुनिका युवतीहरुमा १० किलोमीटर वर्गमा प्रथम जोया खातुन, दोस्रो प्रशंसा विश्वकर्म, तेस्रो इमानुएला नेकियगा भएका छन्। त्यसरी नै ५ किलोमिटर ओपेन महिला वर्गमा प्रथम बन्दना सुब्बा, दोस्रो प्रिया छेत्री, तेस्रो पूर्णिमा नन्दी भएका छन् भने ५ किलोमिटर ओपेन पुरुष वर्गमा प्रथम मिनाल प्रसाद, दोस्रो आयुसराज सुब्बा, तेस्रो रितिक गुरुङ चयन भएका छन्। यस क्रममा ५ किलोमिटर ४५ वर्षमाथिका पुरुष वर्गमा प्रथम कर्म शेर्पा, दोस्रो कृष्ण तामाङ, तेस्रो कर्म टी भोटिया चयन भएका छन् भने ५ किलोमिटर ४५ वर्षमाथिका महिला वर्गमा प्रथम प्रीति तामाङ, दोस्रो खान्डु डोमा भोटिया, तेस्रो लक्ष्मी राई हुन सफल बनेका छन्।त। यसरी नै ५ किलोमिटर १६ वर्षमुनिका बोइसमा प्रथम निहाल तामाङ, दोस्रो विश्वास देवान, तेस्रो अजय राई र ५ किलोमिटर १६ वर्षमुनिका युवती वर्गमा प्रथम शिवानी भुजेल, दोस्रो अवन्तिका राई र तेस्रो आयेसा खातुन भएका छन्। त्यसरी नै ३ किलोमिटरको विभिन्न वर्गमा पनि प्रथम, दोस्रो र तेस्रो भएका छन्। खरसाङ विन्टर रनको दोस्रो संस्करण विषयमा पत्रकारहरुसित कुराकानी गर्दै पूर्व खरसाङ महकुमा शासक आईएएस बिन्दबासिनी तेजा दिपकले सबैको साथ र सहयोगले खरसाङ विन्टर रनको दोस्रो संस्करण पनि सफलतापूर्वक सम्पन्न भएको बताए। उनले सबैको टिम वर्कले जिम्मेवार पर्यटनको लागि खरसाङ विन्टर रनको दोस्रो संस्करण खूबै असल ढंगले सम्पन्न भएको र आगामी दिनमा पनि खरसाङ विन्टर रन यसरी सफल हुँदै जानेमा विश्वास व्यक्त गरेका छन्। यस क्रममा खरसाङ महकुमा खेलकूद संघको सचिव निर्मल गुरुङले पहिलो खरसाङ विन्टर रन दिगो पर्यटनको उद्देश्यका साथ आयोजना गरिएको जसमा ६०० जनाले सहभागिता जनाएका थिए भने यसपाली जिम्मेवार पर्यटनको उद्देश्यका साथ आयोजना गरिएको र यसपाली जम्मा ८५२ जनाले सहभागिता जनाएको बताए। उनले खरसाङमा पर्यटन साथै खेलकूदलाई अघि लानलाई यो कदम चालिएको र खरसाङ विन्टर रनको दोस्रो संस्करण पनि सफलतापूर्वक सम्पन्न भएको अवसरमा सबै सहयोगीहरु र संलग्नहरु सबैलाई धन्यवाद दिएका छन्। पत्रकारहरुलाई सम्बोधन गर्दै सभासद श्याम शेर्पाले खरसाङमा आयोजित खरसाङ विन्टर रन सफलतापूर्वक सम्पन्न भएको र यसले अझ वृहत रुप लिएको बताउँदै खरसाङ विन्टर रनले खरसाङ क्षेत्रमा जिम्मेवार पर्यटनको उद्देश्यका साथमा सफलतापूर्वक सम्पन्न भएको बताए। उनले यसको सफलताको लागि सबैलाई धन्यवाद दिएका छन्। यसै क्रममा खरसाङका डीएफओ आईएफएस देवेश पाण्डे खरसाङ विन्टर रनको दोस्रो संस्करण सफलतापूर्वक सम्पन्न भएको र यसमा खरसाङ वन विभागको पनि मुख्य भूमिका रहेको किनभने खरसाङ विन्टर रनको सम्पूर्ण ट्रयाक वन विभाग क्षेत्रमा रहेको बताएका छन्। उनले यस खरसाङ विन्टर रनको दोस्रो संस्करणमा वन विभागको तर्फबाट वन्य जन्तु र वन जंगलको संरक्षणको लागि विभिन्न प्रदर्शनीहरु पनि राखिएको बताएका छन्। उनले यसपाली खरसाङ विन्टर रनको दोस्रो संस्करणमा ब्लाक पान्थरलाई प्रमुख स्थान दिएर मोडेलहरु राखिएको पनि बताएका छन्। यसै क्रममा खरसाङ विन्टर रनमा सहभागी जनाउन उडिस्साबाट आएकी एकजना सहभागी महिलाले पनि आफ्नो अनुभव सेयर गर्दै खरसाङ विन्टर रनमा सहभागी बन्न पाएर खुशी लागेको साथै सबैकुरा राम्रो लागेको पनि बताएकी छन्।








