खरसाङ: भारतको विभिन्न राज्यहरुमा बसोबास गर्ने गोर्खाहरुसँग भेटघाट गरेर गोर्खाल्याण्ड गठनबारे आफ्नो विचार राख्न अनि गोर्खाल्याण्डबारे ती राज्यहरुमा बसोबास गर्ने गोर्खाहरुको मनोभाव बुझ्न गोर्खाल्याण्ड एक्टीभिष्ट समूहको एउटा टोलीले उत्तर पूर्वी राज्यहरुको भ्रमण शुरू गरेको छ। यो राष्ट्रव्यापी जनसम्पर्क अभियानको शुरुआत बताउँदै यसको माध्यमबाट गोएसले विभिन्न राज्यहरुमा बसोबास गर्ने गोर्खाहरुसँग आफ्नो विचार मात्र साझा नगरेर गोर्खाल्याण्ड सङ्घर्षको निम्ति गर्नु पर्ने कार्यक्रमहरुबारे पनि योजना तयार पार्ने बताएको छ। प्रथम चरणमा गोएस टोली नागाल्याण्डको डिमापूर पुगेको छ भने गोर्खाल्याण्ड गठनमाथि केन्द्रित विषयलाई लिएर समूहले त्यहाँको विभिन्न संघ संस्थाका प्रतिनिधि एवम् सदस्यहरुसँग विचार विमर्श गऱ्यो। कार्यक्रममा कार्बी आङ्लोङ छात्र संघ, हो नेपाली साहित्य संस्कृति मञ्च, गोर्खा युथ क्लब डिमापूर, गोर्खा छात्र संघ डिमापूर, डिमापूर गोर्खा संघका प्रतिनिधि एवम् सदस्यहरू उपस्थित रहेको थियो। कार्यक्रममा आफ्नो विचार राख्दै सह-संयोजक बिक्रम छेत्रीले मूल रूपमा वैचारिक रूपले हाम्रो एकता बनिनु जरूरी रहेको र अबको आन्दोलन हाम्रो समर्थनले होइन सहभागिताले अघि बढ़ाउनु पर्ने कुरा बताए। समूहकै पक्षबाट कुरा राख्दै कर्णल भुपेन्द्र छेत्रीले देशको विभिन्न राज्यहरुमा रहेको गोर्खाहरूसँग भेट गरेर विचार विमर्श गरी दिल्लीमा गोर्खा मिट राख्नु पर्ने सुझाव राखेको र त्यसलाई कार्यान्वयनमा ल्याउन पनि यसरी विभिन्न राज्यहरुको गोर्खाहरुसँग संवाद गर्न गोएसले पहल शुरु गरेको संयोजक किशोर प्रधानले कार्यक्रममा स्पष्ट जनाएका छन्। उनले गोर्खाल्याण्ड गठनको आवश्यकता, गोर्खाल्याण्ड गठनको निम्ति हाम्रो दायित्व, कर्तव्य अनि हामीले अपनाउनु पर्ने सतर्कताबारे बिस्तृत रूपमा आफ्नो सम्बोधन राखेका थिए।संयोजक प्रधानले गोर्खाल्याण्ड गठन हुनेमा आफुहरू पूर्ण रूपमा विश्वस्त रहेको र यही आत्मविश्वासले आफुहरुलाई निरन्तर कार्यक्रमहरू गर्न उर्जा अनि उत्साह प्रदान गरेको बताए। डिमापूरका यस कार्यक्रममा उपस्थित संघ संस्थाका प्रतिनिधिहरुको उत्साहपूर्ण उपस्थितिले समूहको जाँघर अझै दोब्बर बनेको जनाएका छन्।
कार्यक्रममा आफ्नो विचार राख्दै डिमापूरका विज्ञ व्यक्तित्व लोकनारायण सुब्बाले गोर्खाल्याण्ड एक्टीभिष्ट समूहले राखेका विभिन्न पक्षहरुलाई आफुहरुले बुझेका बताए भने विगतका गोर्खाल्याण्ड आन्दोलनहरुबाट आफुले अनुभव गरेको कुराहरुबारे पनि धेरै कुराहरू राखे। गोर्खाल्याण्ड आन्दोलन गर्दा हामीले कुन आधारमा गर्ने, कुन पक्षलाई लिएर गर्ने, कुन शैलीमा गर्ने त्यो निश्चित हुनुपर्ने भन्दै गोर्खाल्याण्डको मुद्दासँग उत्तर पूर्वका गोर्खाहरू जडित भएर काम गर्नु पर्ने पनि बताए। विगतका गोर्खाल्याण्ड आन्दोलनहरुमा आफुहरुले जोड़िने सौभाग्य पाएको र त्यसबाट बटुलेको अनुभवहरु पनि उनले साझा गरे। गोजमुमोद्वारा गरिएको आन्दोलनको समयमा जीटीएको ड्राफ्टबारे नर्थ इष्टका गोर्खाहरुले आलोचना गरेको कुराहरू सम्झना गर्दै सरकारले आन्दोलनलाई कसरी ट्याकल गर्छ त्यो पनि हेर्नु पर्ने जरुरी रहेको बताए। उनले अघि भने “जब भाषाको आधारमा अलग राज्यहरु बनियो असममा पनि नयाँ राज्यहरु बनियो, तब हामी मात्र छोड़ियौं। अहिले हामी मात्रै नन-स्टेट सिटिजन छौं। नागाल्याण्डमा हाम्रो एउटा काउन्सील पनि छैन। गोएसले नयाँ आयामले पुरानै मुद्दालाई शुरू गर्नेभन्दा हामीलाई खुशी लागेको छ। तर दार्जीलिङ बाहिरका गोर्खाले बौद्धिक अनि भावानात्मक रूपले नेतृत्व दिन सके पनि भौतिक रूपमा गोर्खाल्याण्डको आन्दोलनलाई नेतृत्व दिन सक्दैन। आवश्यकता आविष्कारको जननी हो तर गोर्खाल्याण्ड हाम्रो आवश्यकता हो कि होइन त्यसमा गहन बिश्लेषण हुनपर्छ। आवश्यकता नै हो भने किन आजसम्म गोर्खाल्याण्डको आविष्कार भएन कि यो आवश्यकता होइन भन्नेबारे गम्भीर समिक्षा गरिनु पर्छ। भारत सरकारले न्युक्लियर मोभ्मेन्टलाई रिस्पोन्स गरेको छैन। डेमोक्रेटिक मोभ्मेन्ट वा फ्रेडरल मोभ्मेन्टलाई रिस्पोन्स गरेको छ। मन तातो पानीले डड़ेलो लाग्दैन। झिल्का चैं हुनै पर्छ।”
अर्को वक्ताको रुपमा नेपाली साहित्य संस्कृतिक मञ्चका पक्षबाट तिलक रिजालले विगतको गोर्खाल्याण्ड आन्दोलनमा आन्दोलनकारी दलहरुले आन्दोलनलाई सम्झौतामा लगेर टुङ्ग्याएको तिक्तता साझा गर्दै विगतमा पनि जीटीए गठन हुँदा आफुहरू एकर्डको विरोधमैबरहेको बताए भने दार्जीलिङलाई भन्दा दार्जीलिङ बाहिरका गोर्खाहरुलाई गोर्खाल्याण्डको आवश्यकता बड़ी रहेको जनाए। एक्टीभिष्ट समूहको पहललाई सकारात्मक रूपमा लिएपनि उनले समूहको कतिपय विचारहरु जटिल रहेको र यसलाई कार्यान्वयनमा ल्याउन गहन चिन्तन गर्नु पर्ने विचार व्यक्त गरे।

समूहको पक्षबाट गोर्खाल्याण्ड गठनको निम्ति तैयार पारिएको योजना अनि समूहको विचार अनि मान्यतालाई गोएस प्रतिनिधिहरुले स्पष्ट रूपमा उपस्थित संघ संस्थाका प्रतिनिधिहरु समक्ष राखेपछि अन्त्यमा सबैसंँग खुल्ला अन्तर्क्रिया पनि गरिएको थियो जसमा धेरै राम्रो विचार अनि योजनाहरुबारे गम्भीर छलफल गरिएको थियो भने केही प्रभावशाली प्रस्तावहरु पनि ग्रहण गरिएको छ जुन प्रस्तावहरुलाई राष्ट्रव्यापी जन सम्पर्क अभियानलाई चाँडै समाप्त गरेर कार्यान्वयनको प्रक्रिया शुरू गर्ने संयोजक किशोर प्रधानले जनाएका छन्। समग्रमा, डिमापुरको सभा अनि कार्यक्रममा उपस्थित प्रतिनिधिहरुले अबको गोर्खाल्याण्ड आन्दोलन सम्झौतामा वा व्यवस्थामा नभएर गोर्खाल्याण्ड राज्य गठनमै पुगेर टुङ्गयाउनु पर्ने अडान स्पष्ट पारेको थियो। कार्यक्रममा नेपाली साहित्य संस्कृति मञ्च कार्बीआङलोङका केन्द्रीय महासचिव जयकुमार राई, जिल्ला सभापति बाबुराम लामा, सचिव गङ्गाराम भट्टराई, गोर्खा युथ क्लब डिमापूरका सभापति सुमित सुनार, प्रमुख सल्लाहकार शिबु सुनार, समाजसेवी सञ्जय छेत्री, कार्बीआङलोङका बौद्धिक व्यक्तित्व लोकनारायण सुब्बा, नेपाली साहित्य संस्कृति मञ्चका तिलक रिजाल, कार्बीआङलोङ नेपाली छात्र संघ केन्द्रीय समिति
सभापति चन्दन प्रधान, सचिव करन उपाध्याय लगायत धेरै संख्यामा समाजसेवी, विद्यार्थी अनि बिभिन्न संघ संस्थाका सदस्यहरु उपस्थित रहेका थिए।










