रोड मरमत्तिको कार्य चाढै शुरु गरिने अनित थापाको वचन
सोनादा: सोनादाको ग्यारेज लाइनदेखि ओह्रालो जाने रोडको जीर्णावस्थालाई लिएर स्थानीयहरुले गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको प्रमुख कार्यपाल अनित थापासित भेटघाट गरेका छन्। सोनादादेखि ग्यारेज लाइन हुँदै रमिते, नाली चउर, पचेङ भएर रंगमुक, सिडर्स, मुण्डा जाने रोड वर्तमानमा अत्यन्तै जीर्णावस्थामा पुगेको कारणले यो रोड विषय लिएर भूतपूर्व सैनिक वेलफेयर एसोसिएसनको प्रतिनिधिहरु अनि स्थानीय मानिसहरुले यस रोडको मरमत्तिको विषयमा जीटीएको प्रमुख कार्यपाल अनित थापासित भेटघाट गरेका छन्। सोनादाको ग्यारेज लाइनदेखि ओह्रालो जाने रोडको मरमत्तिको लागि जीटीए प्रमुखलाई ज्ञापन पनि बुझाएका छन्। उक्त भेटघाट अवधि जीटीए प्रमुख अनित थापाले यस बाटोलाई आफ्नै उपस्थितिमा आगामी ५ नोभेम्बरदेखि मरमत्तिको कार्य शुरु गरिने वचन दिएका छन्। यस विषयमा उनले भने, ‘आज लोवर सोनादा भूतपूर्व सैनिक वेलफेयर एसोसिएसनका प्रतिनिधिहरु र स्थानीय मानिसहरु सँग भेटघाट गरे। उहाँहरू आफ्नो निम्ति होइन तर जनताकाे हितको मांग लिएर आउनु भएको थियो। ग्यारेज लाइनको बाटो निर्माण विषय हामीले चर्चा गरेका छौं। त्यो बाटो अवश्य बनिने छ।’

यस ज्ञापन पत्र बुझाउने कार्यमा भूतपूर्व सैनिकहरु र स्थानीय मानिसहरु उपस्थित रहेका थिए भनी भूतपूर्व सैनिक वेलफेयर एसोसिएसनको तर्फबाट भूतपूर्व सैनिक अनरेरी कप्तान आईबी राईले बताएका छन्। उल्लेखनीय छ, सोनादाको ग्यारेज लाइनदेखि ओह्रालो जाने रोड अत्यन्तै जीर्णावस्थामा पुगेको कारणले स्थानीयहरु र विद्यार्थीहरुले धेरै असुविधा भोगिरहेका छन्। यस रोडको मरमत्तिको लागि स्थानीयहरुले धेरै पहल गरिरहेका थिए भने यस रोडको मरमत्तिको लागि यस क्षेत्रको भूतपूर्व सैनिक वेलफेयर एसोसिएसनको तर्फबाट पनि पहल गरिरहेका थिए। यसै क्रममा सोमवार यस रोडको मरमत्तिको लागि स्थानीयहरु र भूतपूर्व सैनिक वेलफेयर एसोसिएसनको तर्फबाट जीटीए प्रमुख अनित थापालाई भेटेर ज्ञापन पत्र बुझाएका छन्।











