खरसाङ: खरसाङको पुष्परानी रोय मेमोरियल उच्चतर माध्यमिक विद्यालयबाट १९८८ मा माध्यमिक परीक्षा दिएका भूतपूर्व विद्यार्थीहरूको समूह पुष्परानी १९८८ ब्याचले आफूलाई पढ़ाउने शिक्षक शिक्षिकाहरूलाई सम्मान जनाएको छ। खरसाङको मन्टभियट रोडमा रहेको एउटा हलमा सम्पन्न भएको यस कार्यक्रममा विद्यालयका पूर्व प्रधान अध्यापक उदय थापा, शिक्षक आई हक, ए साहु, ए गोश्वामी, शिक्षिका दोरती सिंह अनि पूर्व पुस्तकालय प्रभारी कमला थापालाई पूर्व विद्यार्थीहरूद्वारा सम्मान जनाएका छन्। यस अवसरमा खदा, अङ्ग वस्त्र, ढाका टोपी, पहिराएर कदर पत्र, उपहार, फूलको बिरुवा प्रदान गरेर सम्मान जनाइयो। पूर्व विद्यार्थी शिशिर राईले सञ्चालन गरेको यो कार्यक्रममा आफ्नो वक्तव्य राख्दै गौतम छेत्रीले समूह गठन, यसले गरेको कार्य अनि आगामी दिनमा गरिने कार्यहरूको बारेमा जानकारी गराए। कार्यक्रमा सन्त राईले स्वागत वक्तव्य राखेका थिए भने जीत बहादुर बसेले धन्यवाद ज्ञापन गरेका थिए। कार्यक्रमा पुष्परानी उच्चतर माध्यमिक विद्यालयकी वर्तमान प्रधान अध्यापिका ललिता भण्डारी, सम्मानित शिक्षक शिक्षिकाहरूले वक्तव्य राखेका थिए।