मंगन: मंगन जिल्लामा निर्माणधीन जिल्ला अस्पतालको उदघाटनको तयारीलाई लिएर आज संयुक्तरूपमा निरीक्षण गरियो। स्वास्थ्य अनि परिवार कल्याण विभागका सचिव छेवाङ ग्याछोको नेतृत्वमा गरिएको निरीक्षणको क्रममा विभिन्न विभागका अन्य अधिकारीहरू पनि सामेल रहेका थिए। जसमा प्रधान निर्देशक डा. पेमा सेडेन, डा, डीसी शर्मा लगायत अन्य अधिकारीहरू पनि रहेका थिए। विशेष गरेर उक्त अस्पतालको उदघाटन आगामी १७ सेप्टेम्बरको दिन औपचारिकरुपमा उदघाटन गरिने कार्यक्रम रहेको छ। निरीक्षणको क्रममा सचिवले सबै प्रकारको व्यवस्थाहरू समयमै र प्रभावकारी रूपमा समाप्त गर्नुपर्ने विषयमाथि जोड दिए। उक्त कार्यक्रम मंगन जिल्लाको लागि एउटा कोशेढुङ्गा र उत्तर सिक्किमका जनताका लागि स्वास्थ्य सेवाहरू सुदृढ पार्ने एउटा महत्त्वपूर्ण पहलको हुने बताए। यस क्रममा अस्पताल परिसरका विभिन्न एकाइहरूको निरीक्षण गर्दै मरम्मति, तारको उचित व्यवस्था, भेन्टिलेसन र ड्रेनेज प्रणालीको सुधारको आवश्यकतामाथि प्रकाश पारे। यस क्रममा सचिवले मंगन जिल्लाका जिल्लापाल, स्वास्थ्य विभागका अधिकारी, सीएमओ र डीएमएसका अधिकारीहरूलाई लिएर एक बैठक आयोजना गरे। बैठकलाई सम्बोधन गर्दै सचिवले नयाँ अस्पतालको समस्यालाई चरणबद्ध रूपमा समाधान गर्ने आश्वासन दिए। उनले उद्घाटन अघि अत्यावश्यक कामहरूलाई प्राथमिकता दिन अधिकारीहरूलाई निर्देशन दिए। सचिवले विशेष गरेर अस्पतालका कर्मचारीहरूसँग नजिकको सम्पर्क कायम राख्न प्रत्येक दुई महिनामा एक पटक प्रमुख निर्देशकहरूले नियमित भ्रमण गर्न सुझाव दिए। सचिवले अस्पतालमा ब्लड ब्यांक शीघ्र सञ्चालन गर्ने आश्वासन पनि दिए। उनले सीसीटीभी र इन्टरकम स्थापना र चालकहरूका लागि तोकिएको कोठाको आवश्यकता पनि उल्लेख गरे।