गान्तोक: जिल्ला बाल संरक्षण यूनिटले नाम्ची जिल्लाको महिला, वरिष्ठ नागरिक अनि दिब्याङजन कल्याण विभागअन्तर्गत आज नाम्ची जिल्लाको लिङमो पैयुङ ग्राम पञ्चायत यूनिटमा एक अभिमुखी एवं सचेतना कार्यक्रम आयोजना गऱ्यो। यस कार्यक्रम आयोजनको मुख्य उद्देश्य आशाकर्मी, आँगनवाडी कार्यकर्ता, वार्ड पञ्चायत र आम मानिसहरूलाई बाल अधिकार र कानूनबारेमा जागरुकता गराउनु रहेको थियो। कार्यक्रममा लिङमो पैयुङ जीपीयूका पञ्चायत सदस्यहरू, जिल्ला बाल संरक्षण अधिकारीहरु र बाल कल्याण समितिका सदस्यताहरूको उपस्थिति रहेको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै डीसीपीओ पेमा ओङमु भोटियाले जुविनायल जस्टिस ऐन २०१५, पोक्सो ऐन २०१२, बाल श्रम ऐन र बाल विबाह ऐनबारे जानकारी गराइन्। उनले आफ्नो सम्बोधनमा कठीन परिस्थितिमा रहेका बालबालिकाका समस्यालाई समाधान गर्ने क्रममा सम्वन्धित ऐनलाई ध्यानमा राखेर पहल गर्नुपर्ने सुझाउ दिइन्। उनले जीपीयूस्तरमा कानूनलाई प्रभावकारी ढङ्गमा कार्यान्वयन गर्नको निम्ति सम्बन्धित सरोकारवालाहरूको भूमिका र जिम्मेवारीहरूबारेमा पनि उल्लेख गरिन्। सोही क्रममा सीडब्ल्यूसीकी सदस्य नीलम सुब्बाले केयर र सुरक्षाको आवश्यकता परेका बालबालिकाका समाधान गर्न सम्बोधन गर्न सीडब्ल्यूसीको भूमिका र जिम्मेवारीमाथि प्रकाश पारिन्। उनले मानसिक स्वास्थ्य जागरूकताको महत्त्वमाथि प्रकाश पार्दै मानसिक स्वास्थ्य शारीरिक स्वास्थ्य जत्तिकै महत्त्वपूर्ण रहने कुरामा जोड दिइन्। उनले सहभागीहरूसँग मानसिक स्वास्थ्य विषयमा अन्तर्क्रिया पनि गरिन्। यसरी नै एनआइसीका अधिकारी वाङगेल तामाङले सहभागीहरूलाई धर्मपुत्र ग्रहण नियम, २०२२ र पालनपोषण हेरचाह धर्मपुत्र ग्रहण र यसको कानुनी ढाँचा र प्रक्रियाहरूबारेमा अवगत गराए। यस क्रममा पञ्चायत सदस्य मोहन राज राईले सहभागीहरूलाई बालबालिकाको अधिकार र उपलब्ध कानुनी सुरक्षाबारेमा जानकारी गराउँदै बालबालिकाहरूलाई सुरक्षित वातावरण र समग्र विकास सिर्जना गर्न समुदाय र बाल कल्याण विभागको भूमिकामाथि प्रकाश पारे।