गान्तोक: सोरेङ जिल्लाअन्तर्गत गुम्बा डाँडालाई डिजिटल नोम्याड भिलेज बनाउने प्रस्तावलाई लिएर आज सोरेङ जिल्ला प्रशासनिक केन्द्रमा एक समीक्षा सभा सम्पन्न भयो। उक्त सभा सोरेङ जिल्लाका अतिरिक्त जिल्लापाल डीआर बिष्टको अध्यक्षतामा सम्पन्न भएको थियो। सभालाई सम्बोधन गर्दै अतिरिक्त जिल्लापाल बिष्टले गुम्पाडाँडामा प्रस्तावित डिजिटल गाउँबारेमा पावरपोइन्ट प्रेजेन्टेसनमार्फत विस्तृतरूपमा जानकारी गराए। यस योजनाले स्थानीयहरूलाई आर्थिकरूपमा आत्मनिर्भर बनाउनको साथै युवाहरूका लागि रोजगारको अवसरहरू सिर्जना गर्ने र जिल्लामा दिगो पर्यटन प्रवर्द्धन गर्ने पहलमाथि प्रकाश पारे। प्रस्तुतीकरणमा पाकिम जिल्लाको याक्तेनमा रहेको भारतको पहिलो डिजिटल नोम्याड गाउँबाट सिकेका कुराहरूलाई सोरेङमा कसरी कार्यन्वयन गर्न सकिन्छ सोबारे अवगत गराए। सोरेङको प्राकृतिक सौन्दर्यबारे जानकारी गराउँदै उनले कञ्चनजङ्घा पर्वतको मनोरम दृश्य, गुम्बाहरू, समृद्ध जैविक विविधता र होमस्टेलाई समावेश गरिएको थियो। नोम्याड भिलेजको निम्ति गुणस्तरीय इन्टरनेट सुविधा, पर्यावरण-मैत्री सडक लगायत अन्य विषयमा पनि प्रकाश पारे। योजनलाई साकार तुल्याउनको निम्ति पर्यटन, आईटी, ग्रामीण विकास, ऊर्जा, पीएचई, स्वास्थ्य र पञ्चायतहरूले सक्रियरूपमा भूमिका निर्वाह गर्नुपर्ने विषयमा अवगत गराए। उक्त परियोजनाले डिजिटल पर्यटनको प्रवर्द्धन, दिगो जीविकोपार्जनको सिर्जना र स्थानीय उद्यामीहरूको लागि सहयोग पुग्न सक्ने सम्भावनाबारे बताए। यस परियोजनाअन्तर्गत झण्डीडाँडा, रिञ्चेनपोङ, गुम्बा साई मन्दिर लगायत स्थानीय पर्यटन स्थलहरूको पनि विकास हुन सक्ने बताए।