पाकिम: सिक्किम राज्य सहकारी यूनियनको १४औं वार्षिक सभा आज आसमलिङजेस्थित सिकोनको प्रेक्षागृहमा सम्पन्न भयो। सभाको अध्यक्षता सिकोनका अध्यक्ष डा. मंगलजीत राईले गरेका थिए। सभालाई सम्बोधन गर्दै अध्यक्ष राईले हालै ६८ वटा सहकारी समिति सामेल भएको र यससँगै कूल ३२० वटा समिति पुगेको बताए। उनले थप जानकारीगराए अनुसार हालसम्म समितिले १९ वटा प्रशिक्षण कार्यक्रम आयोजना गरेको छ जसमा १४ हजार भन्दा अधिक सदस्यहरू सामेल रहेका छन्। हालै मुख्यमन्त्री प्रेमसिंह तामाङले सिकोनको वेब पोर्टल आधिकारिकरुपमा सार्वजनिक गरेको उल्लेख गर्दै ईः बजारलाई सहयोग पुऱ्याएको बताए। डा. राईले मुख्यमन्त्री तामाङलाई सहकारी-केन्द्रित नीति र मार्गदर्शनको लागि धन्यवाद दिए। उनले मन्त्री, सहकारी विभाग, बोर्ड सदस्यहरू, सहकारी तथा वित्त विभागका अधिकारीहरू, शीर्ष सहकारी संस्थाहरू समर्थनलाई पनि स्वीकार गरे। संघको वृद्धि र दक्षतालाई अघि बढाउन सिकोनका अधिकारीहरू र कर्मचारीहरूको समर्पित प्रतिबद्धताको विशेष उल्लेख गरे। सोही प्रकारले सिकोनका मुख्य कार्यकारी अधिकारी फादुङ भोटियाले बैठकको एजेन्डा, वार्षिक प्रतिवेदन, लेखा परीक्षण विवरण प्रस्तुत गर्दै विभिन्न विभागहरूबाट गरिएका पहलहरूमाथि प्रकाश पारे। अटल सेवालाई मान्यता दिन, कार्यक्रममा तीन कर्मचारीहरू बुद्धहाङ सुब्बा, राजेन बराईली र सन्देश सुब्बालाई इमान्दारी र कर्तव्यप्रतिको प्रतिबद्धताको लागि सम्मान जनाइयो। सहकारी विभागका रेजिस्ट्रार केपी शर्माले सहकारी क्षेत्रमा गुणात्मक वृद्धि र मूर्त परिणाम सुनिश्चित गर्न उचित मूल्याङ्कन आवश्यक रहेको बताउँदै सिकोनद्वारा सञ्चालित प्रशिक्षण कार्यक्रमहरूको परिणाम र मूल्याङ्कन गर्नुपर्ने आवश्यकतामाथि जोड दिए।