।मिरिक: दुई वर्षको बन्दीपछि मगरजोङ चियाबारी आजदेखि पुनः सञ्चालनमा आएको छ। मगरजोङ चियाबारी विगत २०२३ को २८ सेप्टेम्बरको दिन २० प्रतिशत बोनस मागको क्रममा बन्द भएको थियो। २ वर्षसम्म मगरजोङ चियाबारीका श्रमिकवर्गले विभिन्न दु:ख अनि असुविधाहरु सामना गरेका थिए। अन्ततः गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन अनि विभिन्न श्रमिक संगठनहरुको प्रयासले आजबाट नागरी टि इ कम्पनीमार्फत पुनः सञ्चालनमा आएको छ। चियाबारीमा सिद्दार्थ सुब्बा प्रमुख प्रबन्धकको पदमा आएका छन्। श्रमिक अनि कर्मचारीवर्गलाई आगामी २० सेप्टेम्बरभित्रमा २०२२ को १९ प्रतिशत गरेर जम्म ५८ लाख रुपियाँ बोनस प्रदान गरिने भएको छ भने रहेका प्रोभिडेन्ट फण्ड, ग्राजुएटी, रिटाइरमेन्ट, पेन्सनको पनि चाढै समाधान गरिने बताइएको छ। ड्राइ सिजन तथा पत्ती नभएको समय चियाबारी सञ्चालन गर्ने मालिक पाएको कारण चियाबारी लामो समयको निम्ति चल्ने संकेत पाएको स्थानीयहरुले जनाएका छन्। आज शुरुको दिनमा श्रमिकवर्ग, कर्मचारीवर्ग, क्षेत्रीय सभासद, ग्राम पञ्चायत उप प्रधान, सदस्यवर्ग, श्रमिक संगठनहरुको चियाबारी कारखानामा सभाको निम्ति व्यापक भीड रहेको थियो।

कारखाना परिसरमा सम्पन्न सभापछि कारखाना प्रमुखद्वारमा पुएूजा अर्चनासहित मूलद्वार खोल्ने कार्य सम्पन्न गरियो। शुरुमा श्रमिक अनि सम्पूर्ण कर्मचारीहरु मिलेर कारखाना परिसरमा साफसफाइ गरियो भने कतिपय श्रमिकहरुद्वारा औपचारिक रुपले पत्ती टिपेर चियाबारीलाई सञ्चालन गर्ने कार्य शुरु गरिएको छ। अब उप्रान्त पुन: यस प्रकारको घटना अनि बन्द मगरजोङ चियाबारीमा दोहोरिन्दैन भन्ने श्रमिक अनि कर्मचारीवर्गले अपेक्षा साँचेका छन्।