रविन्द्रनाथ टेगौर उद्यान तथा साँस्कृतिक केन्द्रको शिलान्यास

IMG-20220921-WA0179.jpg

सोरेङ: आज पर्यटन मन्त्री बीएस पन्तले रिञ्चेन्पोङस्थित मेगीडाँडामा रविन्द्रनाथ टेगौर उद्यान तथा साँस्कृतिक केन्द्रको शिलान्यास गरे। विश्व शान्ति दिवसलाई केन्द्र गर्दै रिन्छेन छ्योलिङ गुम्बा रिञ्चेन्पोङद्धारा आयोजित तीन दिवसीय विश्व शान्ति पूजा साथै प्राण प्रतिष्ठा अनुष्ठानको सातौं वर्षगाठको अवसरमा उक्त परियोजनाको शिलान्यास गरिएको हो। रिन्छेन छ्योलिङ गुम्बा समितिले प्राण प्रतिष्ठा अनुष्ठानको सातौं वर्षगाठको अवसरलाई केन्द्र गर्दै तीन दिवसीय विश्व शान्ति पूजा आयोजना गरेको थियो। यस धार्मिक अनुष्ठानको समापन कार्यक्रममा पर्यटन मन्त्री बीएस पन्त प्रमुख अथितिको रूपमा उपस्थित थिए। मन्त्री पन्तको साथमा क्षेत्र विधायक एवं मन्त्री लोकनाथ शर्मा, गुम्बाका प्रमुख धर्मगुरु टुल्कु साङ्गे योन्तेन ग्याछो रिन्पोछे, स्टेट ब्याङ्क अफ् सिक्किमका अध्यक्ष डीबी गुरुङ, पशुपालन एवं चिकित्सक सेवाका सल्लाहकार दुर्गा प्रसाद प्रधान, सुचना प्रौद्योगिकी विभागका अध्यक्ष नवराज गुरुङ, जनस्वास्थ्य अभियान्त्रिकी विभागका अध्यक्ष हरि नारायण सुवेदी, सिक्किम औधोगिक विकास तथा लगानी निगमका अध्यक्ष जनक गुरुङ, विभिन्न गुम्बाका धर्मगुरुजी र भक्तजनहरुको उपस्थिति थियो।
स्मरण रहोस्, गत वर्ष २१ सेप्टेम्बरको दिन मुख्यमन्त्री पीएस तामाङले रिन्छेन छ्योलिङ गुम्बामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै रिञ्चेन्पोङ मेगीडाँडास्थित कवि रविन्द्रनाथ टेगौर उद्यान तथा साँस्कृतिक केन्द्र राज्य पर्यटन विभागमार्फत विकास गरिने घोषणा गरेका थिए। फलस्वरूप पर्यटन विभागले रिञ्चेन्पोङमा ४१ करोड रुपियाँको लागतमा रविन्द्रनाथ टेगौर उद्यान तथा साँस्कृतिक केन्द्र निर्माण गर्ने भएको हो। उक्त परियोजना अन्तर्गत २६ फिट अग्लो नोबेल पुरस्कारले पुरस्कृत कवि रविन्द्रनाथ टेगौरको मूर्तिसहित उद्यान, तीनताले बहुउद्देश्यीय भवन, वाहन पार्किङ, दुईवटा पारम्पारिक गेट र गुम्बा परिसरको सुन्दरीकरण गरिने भएको छ।
कवि रविन्द्रनाथ टेगौरको मूर्ति स्थापना गरिनुपर्ने रिञ्चेन्पोङवासीको दीर्घकालीन माग रहेको थियो। स्व. टेगौरले सन् १९१२ भन्दा अघि सिक्किमको रिञ्चेन्पोङस्थित पीडब्ल्यूडी डाकबंलामा बसेर उनको नोबेल पुरस्कारले पुरस्कृत कविता संग्रह गिताञ्लीका केही कविताहरू रिञ्चेन्पोङमा बसेर लेखेका थिए।
गुम्बाका प्रमुख धर्मगुरु परमपुज्य टुल्कु साङ्गे योन्तेन ग्याछो रिन्पोछेले सात वर्ष अघि २१ सेप्टेम्बर, २०१५ को दिन उक्त गुम्बामा धार्मिक कार्यक्रमबिच गुम्बा र मूर्तिहरुको प्राण प्रतिष्ठा अनुष्ठान सम्पन्न गरेका थिए। त्यस पश्चात् रिन्छेन छ्योलिङ गुम्बाले प्राण प्रतिष्ठा अनुष्ठानको वर्षगाठ प्रतिवर्ष २१ सेप्टेम्बरको दिन पालन गर्दै आइरहेको छ। आज अन्तरराष्ट्रिय शान्ति दिवस पनि हो। यी विविध कुराहरूलाई केन्द्र गर्दै १९ सेप्टेम्बरदेखि तीन दिवसीय विश्व शान्ति पूजा रिन्छेन छ्योलिङ गुम्बा रिञ्चेन्पोङमा आरम्भ भएको थियो।

रिन्छेन छ्योलिङ गुम्बा रिञ्चेन्पोङको स्थापना सन् १९९६ मा भएको हो। वर्तमानमा गुम्बालाई ट्रस्टमार्फत सञ्चालन गरिँदैछ। गुम्बाको पूर्वाधार विकास र निर्माणमा राज्य सरकारसँगै गुम्बासँग आबद्ध सदस्य साथ-साथै धेरै धर्म अनुयायीहरु सहयोग पुऱ्याएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement