खरसाङ: गौरव मञ्च तीनधारेको आयोजनामा गोपाल योञ्जनको ८२औं जन्म जयन्ती तीनधारेको महात्मा गाँधी हलमा सम्पन्न भएको छ। उक्त कार्यक्रमको अध्यक्षता बिजय गुरुङले गरेका थिए भने प्रमुख अतिथिको रुपमा वरिष्ठ संगीतकार बसन्त छेत्री उपस्थित रहेका थिए। कार्यक्रममा विशिष्ट अतिथिको रुपमा जीटीएका सूचना अनि सांस्कृतिक विभागको कार्यकारी सभासद अनोश थापा, तीनधारे महानदी समष्टिको सभासद नवराज छेत्री, डा मोहन पी दाहाल, गायिका रिमला मोक्तान, साहित्य कला संस्थान् तीनधारेको सभापति रञ्जनकुमार रसाइली, तीनधारे चियाबारीको प्रबन्धक नितिस विश्वास, गोपाल योञ्जनकी भाञ्जीहरु क्रमैले चित्रकला गुरुङ र बिजया गुरुङ लगायत विभिन्न स्थानहरुबाट आएका वरिष्ठ गायक संगीतकारहरु साथै गोपाल योञ्जन सम्मान प्रापक तीनधारे क्षेत्रका वरिष्ठ गायक संगीतकारहरु उपस्थित रहेका थिए। वाग्येयकार गोपाल योञ्जनको तस्वीरमा अतिथिहरुका बाहुलीबाट खदार्पणसहित धुप दीप प्रज्ज्वलन गरेर कार्यक्रम थालिएको थियो। शिक्षक एंव साहित्यकार युवराज सुन्दासले सञ्चालन गरेको कार्यक्रममा गौरव मञ्चको आयोजनामा भईरेहको गोपाल योञ्जन जयन्ती र सम्मान कार्यक्रमको उद्देश्य विषयमा गायक महेश सेवाले वक्तव्य राखेका थिए। कार्यक्रममा स्वागत सम्भाषण गौरव मञ्च तीनधारेको संयोजक सुप्रेम छेत्रीले राखेका थिए। गोपाल योञ्जनको ८२औं जन्म जयन्तीको अवसरमा कलाकारहरुले गोपाल योञ्जनका गीतहरु प्रस्तुत गरेर माहोल नै संगीतमय र गोपालमय बनाएका थिए। कार्यक्रममा गोपाल योञ्जनको विभिन्न कालजायी गीतहरु क्रमैले गायक राकेश लामा, सतीश राई, अन्तोष तामाङ, सुयेश शंकर, दिपेश पाख्रिन, सन्तोष लामा, चन्द्रिका विश्वकर्म, सुमन निरौला र आनन्द विश्वकर्मले प्रस्तुत गरेका थिए। कार्यक्रममा वाग्येयकार गोपाल योञ्जन विषयमा संगीतकार रुपेस रसाइलीले वक्तव्य राखेका थिए। उनले आफ्नो सम्बोधनमा गोपाल योञ्जन संगीतको महासागर हुन् भन्दै उनी नेपाली संगीतको शुरु र अन्त्य हुन् भनी बताएका छन्। उनले गोपाल योञ्जन विषयमा जति नै शोध गरे पनि पूरा हुँदैन कारण उनी अथाह हुन् भनी बताएका छन्। संगीतकार रुपेस रसाइलीले विद्यार्थी नानीहरुलाई सम्बोधन गर्दै संगीत शुरु गर्नु हो भने गोपाल योञ्जनबाट शुरु गरेर गोपाल योञ्जनमा नै अन्त्य गर्नु पर्ने सुझाव दिएका छन्। उनले गोपाल योञ्जन संगीतमा हिमाल जस्तो उच्च रहेको अनि समुन्द्र जस्तो गहिराईमा रहेको पनि बताएका छन्। यसै कार्यक्रममा यसपाली संगीतकार बरुण रसाइली र गीतकार सुकुमार बराईलीलाई गोपाल योञ्जन संगीत सम्मानले सम्मानित गरिएको छ। कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ संगीतकार बसन्त छेत्रीले आफ्नो सम्बोधनमा गोपाल योञ्जनसितको सामिप्य, कार्य र सांगीतिक यात्रा विषयमा आफ्नो अनुभवहरु बताएका छन्। उनले आफु कार्यक्रममा उँभिएको पनि गोपाल योञ्जनको कारणले हो भनी बताउँदै आफु ५०-५५ वर्ष अघि तीनधारे आएर यही महात्मा गाँधी हलमा कार्यक्रम गरेको सम्झना साझा गरेका छन्। संगीतकार बसन्त छेत्रीले गोपाल योञ्जनसित पहिलोपल्ट हिमालयन कला मन्दिर दार्जिलिङ भेट भएको जानकारी गराउँदै पुरानो यादहरु कार्यक्रममा साझा गरेका छन्। उनले गोपाल योञ्जन उमेरमा दाजु भए पनि साथी जस्तो व्यवहार गर्ने गरेको पनि जानकारी गराएका छन्।

कार्यक्रममा विशिष्ट अतिथि जीटीएको सूचना अनि सांस्कृतिक विभागको कार्यकारी सभासद अनोश थापाले तीनधारे तीनवटा धाराहरु साहित्य, संगीत र कला भएको ठाउँ रहेको यहाँ कलाकारहरु मौलिने ठाउँ रहेको पनि बताएका छन्। उनले गोपाल योञ्जन जयन्ती र सम्मान कार्यक्रमको प्रशंसा पनि गरेका छन्। कार्यक्रममा गोपाल योञ्जनका गीतहरु प्रस्तुत गर्ने कलाकारहरुलाई गौरव मञ्च तीनधारेको तर्फबाट स्मृति चिन्ह प्रदान गरेर सम्मान जनाइएको छ। कार्यक्रममा धन्यवाद ज्ञापन गायक महेश सेवाले राखेका थिए।

तीनधारेमा आयोजित गोपाल योञ्जन जयन्ती साथै गोपाल योञ्जन संगीत सम्मान समारोह विषयमा पत्रकारहरुसित कुराकानी गर्दै शिक्षक, साहित्यकार एवं वरिष्ठ उदघोषक युवराज सुन्दासले विस्तृत रुपमा जानकारी गराउँदै यो सम्मान कार्यक्रम आगामी दिनमा पनि जारी रहने अनि यसमा सबैको साथ र सहयोगको आवश्यकता रहेको पनि बताएका छन्।