गेजिङ: भारत सरकारको गृह मन्त्रालयको निर्देशनअनुसार भारत–नेपाल सीमा जिल्ला समन्वय समितिको बैठक गेजिङ जिल्ला प्रशासन केन्द्रमा बस्यो। बैठक एआईसी भिडियो कन्फ्रेन्सिङमार्फत सम्पन्न भएको थियो। सभाको प्रमुख एजेन्डा सीमावर्ती क्षेत्रमा आपसी समन्वयलाई अझ सबल बनाउने, सुरक्षा संयन्त्रलाई सुदृढ गर्ने तथा दुवै पक्षका साझा चासोका विषयमा सहयोग र समझदारी बढाउनु रहेको थियो। सभाको अध्यक्षता जिल्लापाल तेन्जिङ डी डेन्जोङपाले गरेका थिए। साथै जिल्ला पुलिस अधीक्षक छिरिङ शेर्पा, सहायक जिल्लापाल सुरेश राई तथा डिभिजनल फरेष्ट अफिसर (टेरेस्ट्रियल) जिग्मे छेवाङ भोटिया उपस्थित थिए। यसैगरी सोरेङ जिल्लाको टोलीमा जिल्लापाल धिरज सुवेदी सहायक जिल्ला प्रशासक दयाराम बिष्ट, डिभिजनल फरेष्ट अफिसर (टेरेस्ट्रियल) पेगीला भेन्चुङ्पा, सहायक पुलिस अधीक्षक पर्शुराम शर्मा पनि सहभागी थिए। यसबीच याक्सोमस्थित ७२ बटालियन एसएसबीका कमाण्डेन्ट र ३६ बटालियन एसएसबी गेजिङका डिप्टी कमाण्डेन्ट पनि सहभागी थिए। नेपालतर्फबाट पाँचथर र ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी, सशस्त्र प्रहरी बल, नेपाल पुलिस, राष्ट्रिय अनुसन्धान विभाग तथा वन एवं सर्वे विभागका अधिकारीहरूको सहभागिता रहेको थियो। सभामा सीमा व्यवस्थापन, सीमा स्तम्भको मरम्मति तथा संरक्षण, ‘नो म्यान्स ल्याण्ड’ मा अतिक्रमण रोकथाम, नेपाल एपीएफसँग संयुक्त गस्तीलाई थप प्रभावकारी बनाउने, तत्कालीन सूचनाको आदान–प्रदान, अवैध प्रवेश रोकथाम तथा सीमा क्षेत्रमा विद्यमान सुरक्षा परिस्थिति र सम्भावित जोखिम मूल्याङ्कन जस्ता विषयमा विस्तृत छलफल भयो। त्यससँगै जनस्तरमा आपसी सम्बन्धलाई अझ प्रगाढ बनाउन खेलकुद, व्यापार सहजता, सहकार्यात्मक गतिविधि बढाउने लगायतका विषयमा समेत छलफल भयो। यसक्रममा आगामी सेप्टेम्बर २०२५ मा संयुक्त लामो दूरीको गस्ती तथा अभियान सञ्चालन गर्ने प्रस्ताव पनि राखिएको छ। बैठकलाई सम्बोधन गर्दै गेजिङका जिल्लापालले नेपाल एपीएफसँग संयुक्त गस्ती र खेलकुद कार्यक्रमले केवल सुरक्षा सहयोगलाई मात्र सुदृढ नगरेर सीमा क्षेत्रका समुदायबीच आपसी विश्वास र सद्भावलाई पनि मजबुत बनाउने कुरामा जोड दिए। यसैगरी, सोरेङका जिल्लापाल बस्नेतले भारत-नेपालबीचको ऐतिहासिक, सांस्कृतिक र धार्मिक सम्बन्धलाई स्मरण गर्दै शान्ति, स्थिरता र विकासात्मक सहकार्यका लागि दुवै पक्षबीच अझ घनिष्ठ समन्वय आवश्यक रहेको धारणा व्यक्त गरे। सभामा दुवै पक्षको संयुक्त प्रतिबद्धतासहित सम्पन्न भयो, जसअन्तर्गत भारत-नेपाल सीमावर्ती जिल्लामा शान्ति, सुरक्षा र दिगो विकासका लागि सामुहिक रुपमा अगाडि बढ्ने सहमति बनेको छ।