गान्तोक: हाल ओडिसाको भ्रमणमा रहेका सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले आज ओडिसाका राज्यपाल हरिबहादुर कम्बाहमपतिसँग शिष्टाचार भेट गरे। राजधानी भुवनेश्वस्थित राजभवनमा भएको उक्त शिष्टचार भेटको क्रममा विभिन्न विषयमाथि छलफल गरियो। भेटको क्रममा मुख्यमन्त्री तामाङले सिक्किम राज्य स्थापनाको स्वर्ण जयन्ती महोत्सवको उपलक्ष्यमा जारी गरिएको ५० रूपियाँको स्मारक सिक्का प्रदान गरे। यस अवसरमा दुई राज्यबीचको सद्भावना सुदृढ पार्दै एकता, प्रगतिको मुल्य र मान्यताहरू साँझा गरेको बताइएको छ। सोही प्रकारले मुख्यमन्त्री तामाङले ओडिसाका मुख्यमन्त्री मोहनचरण माझीसँग पनि औपचारिक भेट गरे। मुख्यमन्त्री तामाङले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत राज्यपाल र मुख्यमन्त्रीसितको औपचारिक भेटको जिकिर गरेका छन्। यस अवसरमा सिक्किमको ५०औं राज्य स्थापना महोत्सवमा जारी गरिएको ५० रूपियाँको स्मारक सिक्का पनि भेटस्वरुप चढ़ाएको उल्लेख मुख्यमन्त्री तामाङले गरेका छन्। मुख्यमन्त्री तामाङले राज्यपाल र मुख्यमन्त्रीसितको भेट फलप्रद रहेको बताएका छन्।