खरसाङ: खरसाङमा डेमोक्रेटिक युउथ् फेडेरेशन अफ् ईण्डिया (डीवाईएफआई) ले बिहीबार एक रैली निकाल्दै विभिन्न मांगहरु लिएर खरसाङ खण्ड विकास अधिकारीलाई ज्ञापन पत्र बुझाएका छन्।डीवाईएफआईले खरसाङको रेलवे स्टेशनबाट रैली निकालेर पंखाबारी रोड हुँदै खरसाङ खण्ड विकास कार्यालयसम्म पुगेर विभिन्न मांगहरुमा ज्ञापन पत्र बुझाउने कार्य सम्पन्न गरेका छन्। उक्त रैली र ज्ञापन पत्र बुझाउने कार्यमा डीवाईएफआई दार्जिलिङ जिल्ला सचिव सागर शर्मा, खरसाङकी सचिव दिपा तामाङ, खरसाङका सदस्य-सदस्याहरु क्रमैले सुवासना खाती, सविन एक्का, निलिमा छेत्री लगायत अन्यहरु उपस्थित रहेका थिए। डीवाईएफआईले खरसाङ खण्ड विकास कार्यालयमा पुगेर संयुक्त खण्ड विकास अधिकारी फ्रान्को सिध्दार्थ तामाङलाई विभिन्न आठवटा विषयमा ज्ञापन पत्र बुझाउने कार्य सम्पन्न गरेका छन्। यस अन्तर्गत सय दिने रोजागारको कार्य झट्टै शुरु गर्नु पर्ने र यसको लागि दैनिक हाजिरा ६०० रुपियाँ गर्नु पर्ने साथै सय दिने रोजागारको कार्य वर्षमा १०० दिनबाट बढाएर २०० दिन गर्नु पर्ने मांग गरिएको छ। त्यसरी नै स्थानीय क्षेत्रमा रिक्त रहेको सरकारी कार्यालयहरुमा स्थानीय र योग्यहरुलाई झट्टै भर्नु पर्ने लगायत अन्य विभिन्न मांगहरु राखिएको छ। ज्ञापन पत्रमा डीवाईएफआईले खरसाङ क्षेत्रमा रहेका विशेष गरेर रोहिणी क्षेत्रमा रहेका स्वास्थ्य केन्द्रको मरमत्ति गरेर जनसाधारणलाई असल प्रकारले स्वास्थ्य सेवा प्रदान गर्ने सरकार समक्ष मांग गरेका छन्। त्यसरी नै खरसाङ क्षेत्रका बन्द चियाबारीहरु झट्टै खोल्नु पर्ने मांग पनि राखेका छन्। गुणस्तरीय शिक्षाको लागि सरकारले पहल गर्नु पर्ने र निजी स्कूलहरुमा मासिक शुल्क घटाउनु पर्ने पनि मांग गरेका छन्। त्यसरी नै खरसाङको डाउहिल स्कूल र भिक्टोरिया स्कूललाई उच्चत्तर तहमा अपग्रेड गर्नु पर्ने मांग पनि उठाएका छन्। डीवाईएफआईले खरसाङ क्षेत्रमा ड्रग्स रोकथामको लागि कदम चाल्नु पर्ने विषय पनि उठान गरेका छन्।

यस विषयमा पत्रकारहरुसित कुराकानी गर्दै डीवाईएफआई दार्जिलिङ जिल्ला सचिव सागर शर्माले विस्तृत जानकारी गराएका छन्। यसको साथै उक्त ज्ञापन पत्र विषयमा खरसाङ खण्डको संयुक्त खण्ड विकास अधिकारी फ्रान्को सिध्दार्थ तामलाङले पनि जानकारी गराएका छन्।