म्यानचेष्टर: भारतले चुनौतीपूर्ण परिस्थितिहरूबीच लड़ाकू प्रदर्शन गर्दै ईंग्ल्याण्डविरुद्ध चौथो क्रिकेट टेस्ट म्याच ड्र गऱ्यो। चौथो टेस्ट ड्र भए पनि ईंग्ल्याण्डले ५ वटा टेस्ट म्याचको सीरीजमा २-१-को बढ़तलाई कायम राख्यो। सीरीजको पाँचौं तथा अन्तिम टेस्ट म्याच ३१ जुलाईदेखि लण्डनको द ओवल-मा शुरु हुनेछ। भारतले ओल्ड ट्रेफर्डमा खेलिएको चौथो टेस्ट म्याचको पहिलो ईनिंग्समा ३५८ रन बनाएको थियो। त्यसपछि ईंग्ल्याण्डले ६६९ रन बनाएर पहिलो ईनिंग्सको आधारमा ३११ रनको विशाल बढ़त हासिल गरेको थियो। चौथो दिन भारतले आफ्नो दोस्रो ईनिंग्समा पहिलो ओभरमै कुनै रन नबनाइ यशस्वी जयसवाल र साई सुदर्शनको विकेट गुमाउँदा ईंग्ल्याण्डको जीत तय लागिरहेको थियो तर कप्तान शुभमन गिलको कप्तानीमा टीम इण्डियाले अन्तमा म्याच ड्र गरेर देखायो।
आइतवार म्याचको पाँचौं तथा अन्तिम दिन भारतको स्कोर ४ विकेटमा ४२५ रन हुँदा दुवै टीम म्याच ड्र गर्न राजी भयो। भारतलाई यसरी निश्चित हारको मुखबाट बाहिर निकाल्नमा कप्तान गिलको साथमा रविन्द्र जडेजा, वाशिंगटन सुन्दर र केएल राहुलले महत्त्वपूर्ण भूमिका निर्वाह गरे। यसमा गिल, जडेजा र सुन्दरले शतक बनाए भने राहुल केवल १० रनले गर्दा शतकदेखि वञ्चित भए। शून्य रनमा २ विकेटको पतनपछि गिल र राहुलले मिलेर तेस्रो विकेटको निम्ति १८८ रनको पार्टनरशीप गरे। गिलले २३८ बलमा १२ वटा चौकाको साथ १०३ र राहुलले २३० बलमा ८ वटा चौकाको साथ ९० रन बनाए। आज बिहानको सत्रमा पहिला राहुल अनि पछिबाट गिल आउट भए। यसरी एक समय भारतको स्कोर २२२ रनमा ४ विकेट थियो। त्यहाँबाट जडेजा र सुन्दरले मिलेर पाँचौं विकेटको निम्ति २०३ रनको अटूट पार्टनरशीप गरेर भारतलाई हारको सम्मुखीन हुनबाट बचाए। जडेजाले १८५ बल खेलेर १३ वटा चौका र एउटा छक्काको साथ अविजित १०७ रन बनाए। यसरी सुन्दरले २०६ बल खेलेर ९ वटा चौका र एउटा छक्काको साथ अविजित १०१ रन बनाए। सुन्दरले आफ्नो शतक पूरा गर्नको साथै म्याच ड्र घोषित गरियो। ईंग्ल्याण्डको पहिलो ईनिंग्समा १४१ रन बनाउनको साथै म्याचमा ६ विकेट हासिल गर्ने ईंग्ल्याण्डका कप्तान बेन स्टोक्सले प्लेयर अव् द म्याचको पुरस्कार जिते।