गान्तोकमा सातौं सारथी सम्मान दिवस पालन

IMG-20250727-WA0146

गान्तोक: राजधानीस्थित मनन केन्द्रमा आयोजित एक भव्य कार्यक्रमबीच सातौं सारथी सम्मान दिवस पालन गरियो। उक्त अवसरमा मुख्यमन्त्री प्रेमसिंह तामाङ मुख्य अतिथिकारूपमा उपस्थित थिए। यसका साथै उनकी धर्मपत्नी कृष्णा राई लगायत अन्य मन्त्री र अधिकारीहरुको उपस्थिति रहेको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री तामाङले सारथी सम्मान दिवसको अवसरमा सबै सारथीहरूलाई बधाई साथै शुभकामना दिए।


आज सिक्किम राज्यमा विश्वमा नै नभएको चालक गुरूजीहरूलाई सम्मान जनाउने समर्पित नौलो कार्यक्रम भइरहेको दाबी गर्दै एसकेएम पार्टी विपक्षीमा हुँदा पनि चालकहरूलाई सम्मान गर्दै आइरहेको स्मरण गराए। वर्ष २०१९ मा एसकेएम पार्टीको सरकार आउनमा सारथीहरूको ठूलो योगदान, सहयोग र आशीर्वाद रहेको अवगत बताए। सारथीहरूको पार्टीप्रतिको योगदानलाई कदर गर्दै सरकारले सारथी सम्मान दिवस शुरू गरेर इतिहास बनाएको उल्लेख गरे। चालकहरू नभए सरकारको सबै कामकाज ठप्प हुने जनाउँदै सरकारको पक्षबाट सम्मान जनाउन आफू मनभित्रैबाट कार्यक्रममा उपस्थित बनेको थप दाबी गरे। राज्य र देशको विकासमा चालक सारथीहरूको ठूलो भूमिका रहेको बताउँदै उनले आजको कार्यक्रममा सरकारका अधिकारीहरूको न्यून उपस्थितिप्रति दुःख व्यक्त गरे। २०१९ भन्दा अघि र आजको स्थितिको मूल्याङकन गर्ने आह्वान गर्दै मुख्यमन्त्रीले चालकहरूले सारथी आईडलजस्ता कार्यक्रमहरूमा पनि प्रतिभा प्रस्तुत गरेर प्रतिभाको परिचय दिएको उल्लेख गरे। २१औं शताब्दीमा जाँगर र सीप हुनेहरूले कहिल्यै पनि दुःख नपाउने मन्तव्य व्यक्त गर्दै चालकहरूको इमान्दारिताको खुलेर प्रशंसा गरे। उनले कुनै पनि आपद र दुःखको समयमा सरकार सदैव चालकहरूको साथमा रहने वचन प्रकट गर्दै चालकहरूका सन्तानलाई उच्च शिक्षा हासिल गर्नमा सरकारले पूर्णरूपमा सहयोग प्रदान गर्दै आईरहेको र गरिरहने प्रतिवद्वता व्यक्त गरे। मुख्यमन्त्रीले चालक कल्याण बोर्डमार्फत चालकका परिवारलाई विभिन्न सहुलियतहरू उपलब्ध गराउँदै आइरहेको जानकारी पनि गराए। चालकका छोराछोरीहरूले आज उच्च पदहरूमा नियुक्ति पाएको उल्लेख गर्दै उनले चालक कल्याण बोर्डको निम्ति प्रत्येक बर्ष एक करोड रुपियाँ धनराशि आवण्टन गरिएको जानकारी गराए। चालकहरूका निम्ति तीनसय वटा घरहरू निर्माण गर्ने कार्य शीघ्र शुरू गरिने मुख्यमन्त्रीले घोषणा गरे। सिक्किम गरीब आवास योजना, जीसीआई सीट र इन्भर्टर जस्ता सहुयिलतहरू चालकहरूको निम्ति वितरण गर्ने कार्य भइरहेको अवगत गराए। उनले प्रसङ फेर्दै पर्यटकीय क्षेत्रमाथि ध्यानमा राख्दै सडक पूर्वाधारहरू चुस्त राख्ने कार्य भइरहेको पनि जानकारी गराए। यसका साथै राज्यका सबै जिल्लाहरूमा पार्किङ पूर्वाधारहरू निर्माण भइरहेको पनि अवगत गराए। चालकहरूका परिवारलाई मेडिकल बीमा सुविधा उपलब्ध गराइने बताउँदै अब उसो एआई चेकिङबाट चालकहरूले कुनै समस्याहरू भोग्नु नपर्ने दाबी गरे। एआई चलानबाट हुने फाइनहरूमा धेरै छुट दिइएको पनि उनले अवगत गराए। चालकहरूलाई कुनै पनि असुविधा नहोस् भन्ने खातिर सरकारले ट्राफिक प्रबन्धनमा हरसम्भव पहलहरू गरिरहेको अवगत गराए। अब उसो प्रत्येक वर्ष १० अगस्तको दिनलाई आमा सम्मान दिवसको रुपमा पालन गरिने बताए। साथै ३२ हजार आमाहरूलाई पहिलो किस्तीको रूपमा २०-२० हजार रुपियाँ सहयोग स्वरूप प्रदान गरिने जानकारी गराए। कार्यक्रमलाई विधायक तथा चालक मोर्चाका उपाध्याक्ष प्रभारी सञ्जित खरेल र यातायात विभागका सल्लाहकार तथा विधायक मदन सिन्चुरीले पनि सम्बोधन गर्दै एसकेएम सरकारले चालकहरूको हितमा गरेका विविध कल्याणकारी योजनाहरूबारे प्रकाश पारेका थिए। कार्यक्रममा सारथी आइडलका विजेता र उपविजेताले गायन प्रस्तुति दिए।

यस अवसरमा मुख्यमन्त्रीलाई यातायात विभाग, राज्य चालक प्रकोष्ठ र सारथी कल्याण बोर्डद्वारा सम्मान जनाइयो। यसैगरी कार्यक्रममा चारसय भन्दा अधिक लाभार्थीलाई मुख्यमन्त्री विवेकाधीन कोषमार्फत सहयोग राशिको चेक हस्तान्तरण गरियो। कार्यक्रममा उत्कृष्ट सारथी पुरस्कारद्वारा ६ वटै जिल्लाबाट दुई-दुई जना गरी कुल १२ जना चालकलाई वाहन प्रदान गरियो। सडक दुर्घटनाका पीडित चालक परिवारलाई पनि पाँच-पाँच लाख रुपियाँको अनुग्रह राशि प्रदान गरियो। सोही प्रकारले एसएनटी ट्रक, ट्याङकर र बस चालक तथा र बस कन्डकटरलाई उत्कृष्ट चालक पुरस्कारद्वारा सम्मानित गरियो। यसबीच महिला चालकहरूलाई पनि अभिनन्दन जनाइएको थियो। यसैगरि एमबीबीएस अध्ययन गर्दै गरेका चालकका नानीहरूलाई पनि सम्मान जनाइयो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement