गान्तोक: सिक्किम अमेच्योर बक्सिङ एसोसिएसनको पहलमा हिजोदेखि रेशीथाङमा आयोजन भइरहेको १९औं सिक्किम राज्यस्तरीय सब जुनियर र बोयज एण्ड गर्ल्स बक्सिङ प्रतियोगिताको दोस्रो आज विभिन्न विधामा प्रतियोगिता भयो। खेलाडीहरूले उत्साही सहभागिता जनाएका थिए। तीन दिवसीय प्रतियोगिताको समापन २८ जुलाईको दिन हुनेछ। प्रतियोगितामा राज्यका छवटै जिल्लाबाट प्रतियोगीहरूले अंशग्रहण गरेका छन्। दोस्रो दिनको कार्यक्रममा मुख्य अतिथिकोरूपमा रहेका खेलकूद एवं युवा मामिला विभागीय सचिव याङछेन डोमा तामाङले खेलाड़ीहरुलाई खेल विकासप्रति प्रेरित गरिन्। उनको साथमा सिक्किम ओलम्पिक एसोसिएसनका उपाध्यक्ष छेवाङ जाङपो भोटिया लगायत अन्य अधिकारीहरुको पनि उपस्थिति रहेको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै सचिव तामाङले युवा बक्सर खेलाडीहरूलाई समर्पित र अनुशासित रहन प्रोत्साहित गरिन्। उनले यस महत्वपूर्ण प्रतियोगिताका लागि साबाका अध्यक्ष जसलाल प्रधान र सबै कार्यकारी सदस्यहरू, जिल्ला बक्सिङ संघहरूको प्रशंसा गरिन्। यस अवसरमा नाम्ची जिल्ला बक्सिङ संघकी राष्ट्रिय स्तरकी रजत पदक विजेता र अन्तर्राष्ट्रिय बक्सर याशिका राईलाई सम्मानित गरियो।