खरसाङ: खरसाङमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको आयोजनामा गोर्खाल्याण्ड आन्दोलनमा शहीद भएका शहीदहरुलाई श्रध्दाञ्जली अर्पण गर्दै शहीद दिवस समारोह सम्पन्न भएको छ। खरसाङको इगल क्य्राकमा अवस्थित शहीद वेदीमा बिहान शहीदहरूलाई श्रध्दाञ्जली अर्पण कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा केन्द्रीय समितिको महासचिव अमर लामा उपस्थित रहेका थिए। उनले शहीद वेदीमा गोर्खाल्याण्ड आन्दोलनमा जाति र माटोको लागि बलिदान दिने वीर शहीदहरूलाई श्रध्दाञ्जली अर्पण गरेका छन्। उनीसितै भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा केन्द्रीय समिति, खरसाङ महकुमा समिति, खरसाङ टाउन कमिटी, २८ नम्बर खरसाङ चिमनी देवराली समष्टि र २९ नम्बर खरसाङ गिध्द पहाड समष्टिको पदाधिकारीहरु उपस्थित भएर शहीदहरूलाई श्रध्दाञ्जली अर्पण गरेका छन्। कार्यक्रमको शुरुमा विभिन्न धर्मका गुरुहरुद्वारा पूजा अर्चना साथै प्रार्थना गरेर थालिएको कार्यक्रममा भूतपूर्व सैनिकहरुले बिकुल बजाएर शहीदहरूलाई श्रध्दाञ्जली अर्पण गर्दै सलामी दिइएको थियो। कार्यक्रममा शहीदका परिवारहरुलाई खरसाङ कलेजका एनसीसीका विद्यार्थीहरुले गार्ड अफ् अनर दिइएको थियो। खरसाङको इगल क्य्राकमा शहीदहरुलाई श्रध्दाञ्जली अर्पण कार्यक्रमपछि खरसाङको नयाँ बजारस्थित टाउन सार्वजनिक भवनमा सम्मान कार्यक्रम सम्पन्न भएको छ। यस कार्यक्रममा गोर्खाल्याण्डको लागि शहीद बनेका शहीदका परिवारहरुलाई सम्मान जनाइएको छ। यसको साथै कार्यक्रममा कविता, गीत, नृत्य प्रस्तुत गरिएको थियो।

कार्यक्रममा सूचना अनि सांस्कृतिक विभागको कलाकारहरुले पनि गीत प्रस्तुत गरेका थिए। कार्यक्रममा शहीदहरु विषयमा वरिष्ठ साहित्यकार एंव गोर्खा सांस्कृतिक संस्थान् खरसाङकी अध्यक्षा आशा मुखिया लामाले वक्तव्य राखेका थिए। कार्यक्रममा प्रमुख अतिथि भागोप्रमो केन्द्रीय महासचिव अमर लामाले वक्तव्य राखेका थिए। यसको साथै गत वर्ष झैं यसपाली पनि युवा शक्तिको आयोजनामा खरसाङमा रक्तदान शिविरको आयोजना गरिएको छ। खरसाङमा आयोजित शहीद दिवस समारोह विषयमा पत्रकारहरुसित कुराकानी गर्दै आयोजक समितिको संयोजक प्रेमेन्द्र गुरूङ र प्रमुख अतिथिको रूपमा उपस्थित भागोप्रमो केन्द्रीय महासचिव अमर लामाले विस्तृत रुपमा जानकारी गराएका छन्।