शहीद दिवसमा दार्जिलिङका विधायक निरज जिम्बाद्वारा शहीदका परिवारलाई घर निर्माण साथै आजीवन वृध्दा भत्ता दिने घोषणा

IMG-20250727-WA0109

खरसाङ: छुट्टै राज्य गोर्खाल्याण्डको आन्दोलनमा आफ्नो प्राणको आहुति दिने वीर शहीदहरूलाई शद्धाञ्जली अर्पण गर्न दार्जीलिङका विधायक निरज जिम्बा आज खरसाङको लङ्भ्यूस्थित शहीद वेदीमा पुगेका थिए। गोरामुमोको आयोजनामा सम्पन्न एक श्रद्धाञ्जली कार्यक्रममा पार्टीको खरसाङ ब्राञ्च अध्यक्ष निमा लामा, नरेश गुरूङ, युद्ध छेत्री लगायत नारी सङ्गठन, युवा सङ्गठन आदिका प्रतिनिधि अनि सदस्य तथा पार्टी समर्थकहरू उपस्थित थिए। सर्वप्रथम यहाँको शहीद वेदीमा धूप-दीप प्रज्वलन गरे औ माल्यार्पण गरेर श्रद्धाञ्जली अर्पण गरे। त्यसपछि पत्रकारहरूलाई सम्बोधन गर्दै विधायक जिम्बाले अवश्य नै शहीदहरूको त्याग र बलिदानको मूल्याङ्कन हुने जनाए। तिनले आजको दिन जाति र माटोको निम्ति आफ्नो प्राणको आहुति दिने ती वीर शहीदहरूलाई श्रद्धाञ्जली अर्पण गर्ने पवित्र दिन रहेको जनाउँदै लङ्भ्यूको यस स्थान पनि अतिनै पवित्र स्थान रहेको जहाँ दुइजना वीरहरूलाई जाति र माटोको निम्ति आफ्नो अमूल्य जीवनको योगदान दिएको जनाए। यसै अवधि विधायक जिम्बाले यहाँको एक शहीद निमा थिङकी पत्नीलाई उनी सोह्र वर्षसम्म दागोपापमा कार्य गरेको भए तापनि उनलाई केही वर्ष अघि कामबाट निकालिएपछि आजसम्म केही नपाएकोले तथा उनको घरको अवस्था पनि जीर्ण बनेकोले उनले आफ्नो व्यक्तिगत पक्षबाट घर बनाउन एक लाख प्रदान गरे भने आफ्नो शरीर रहेसम्म मासिक तीन हजार रूपियाँ पेन्सनको रूपमा दिने घोषणा गर्दै हाललाई पन्ध्र हजार रुपियाँ पनि प्रदान गरे।

जिम्बाले श्रीमति थिङलाई शाल ओडाएर, खदा लगाएर अनि उपहारहरू दिएर सम्मान पनि जनाए। यसै अवधि शहीद थिङकी पत्नीले पनि आजसम्म उनको अवस्थाप्रति कसैले ध्यान नदिएको जनाउँदै यसरी विधायक जिम्बाले उनको अवस्थालाई ध्यानमा राखेर सहयोग प्रदान गरेकोमा उनीप्रति आभार व्यक्त गरिन् औ उनको सुस्वास्थ्य, दीर्घायु र आगामी सफलताको निम्ति आर्शिवाद पनि दिइन्। यसै अवधि पार्टी प्रतिनिधि सुबोध पाख्रीनले पनि आजको कार्यक्रमबारे अवगत गराए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement