गान्तोक: भारतीय संविधानका नेपाली अनुवादक तथा साहित्यकार कुबेरचन्द्र दाहालकृत ‘टिस्टा रंगीत’ एक भव्य कार्यबीच सार्वजनिक गरियो। तादोङस्थित एक होटलमा आयोजित कार्यक्रममा सिक्किम सरकारका सड़क एवं पुल विभागीय मन्त्री एनबी दाहाल मुख्य अतिथि थिए। स्मरण रहोस्, साहित्यकार दाहालले पहिलोपल्ट १९९१ भारतीय संविधानलाई नेपालीमा अनुवाद गरेका थिए। नेपाली भाषामा अनुदित दाहालको भारतको संविधानले निकै लोकप्रियता पाएको थियो। अधिक माग र लोकप्रियता कै कारण दाहालले २०२० मा दोस्रोपल्ट उक्त कृतिलाई प्रकाशनमा ल्याएका थिए। आज लोकार्पण भएको दाहालको दोस्रो मौलिक कृति ‘टिस्टा रंगीत’ दार्जीलिङ-सिक्किमको ऐतिहासिक पृष्ठभूमिमाथि आधारित रहेको जानकारी उनले आज लेखकीय सम्बोधनमा बताए। सिक्किम सरकारमा एक सफल नोकरशाहका रुपमा रहेर अवकाश ग्रहण गरिसकेका दाहाल विभिन्न संघ संस्थाहरुसित पनि जोड़िएका छन्। उनले सिक्किमको शीर्ष साहित्यिक संस्था नेपाली साहित्य परिषदको महासचिव र अध्यक्षको रुपमा पनि सेवा पुऱ्याइसकेका छन्। कृतिबारे बोल्दै दाहालले भारतीय नेपाली साहित्यको आख्यान विधामा कलम चलाउने सर्जकहरुको संख्यामा कमि आएको महसुस गर्दै ऐतिहासिक पृष्ठभूमिलाई आधार बनाएर कृति तयार पारेको बताए। ‘टिस्टा रंगीत’ मा ऐतिहासिक फेन्टासीको प्रयोग भएको र ऐतिहासिक तथ्यहरुमाथि पनि प्रमुखतासित काम गरेको जानकारी गराए। कृतिमा ऐतिहासिक घटनाक्रम समावेश गरेको उल्लेख दाहालले आफ्नो सम्बोधनमा गरे। कार्यक्रममा साहित्यकार कमल काफ्लेले लोकार्पित कृतिमाथि आफ्नो पाठकीय दृष्टिकोण राखे। दार्जीलिङ नायक र सिक्किम नायिका भएको यस कृतिले पाठकहरुलाई सहजै आकर्षित पार्न सकिने उल्लेख गरे। कृतिका प्रकाशक बुकअन्टका निर्देशक तथा कवि राजा पुनियानीले ‘टिस्टा रंगीत’ कृतिभित्र भएको ऐतिहासिक पृष्ठभूमिले पाठकको ध्यान खिच्नसक्ने बताए। कार्यकमका मुख्य अतिथि मन्त्री दाहालले साहित्य, कला र संगीतमाथि काम गर्दै आएका सर्जकहरुका लागि सरकार प्रेऱणाको स्रोत बनेर काम गरिरहेको बताए। यसबीच कवि निमा शेर्पा र निलम गुरुङले कविता वाचन गरे भने सपना छेत्रीले गीत प्रस्तुत गरेकी थिइन्। खरसाङबाट आएका कलाकार सुरज मोक्तानले भायलिन वादन प्रस्तुत गरे। कार्यक्रमको अध्यक्षता स्वास्थ्य मन्त्री जीटी ढुङ्गेलले गरेका थिए।