मॉस्को: रुसको सुदूर पूर्वी तटीय क्षेत्रमा आइतबार शृङ्खलावद्धरूपमा शक्तिशाली भूकम्प गएको अमेरिकी भौगर्भिक अध्ययन विभागले जनाएको छ। स्थानीय समयअनुसार आइतबार सुरूमा लगातार ५.० म्याग्निच्युड र ६.७ म्याग्निच्यूडको भूकम्प गएका थिए। ग्रीनविच समयअनुसार आइतबार ८:४९ मा अर्को ७.४ म्याग्निच्यूडको शक्तिशाली भूकम्प गएको र यसबाट तटीय क्षेत्रमा सुनामीको लहर आउनसक्ने बताइएको छ।
युएसजीएसले रुसी तटमा ३० सेन्टिमिटरदेखि एक मिटर (३.३ फिटसम्म र जापान तथा अमेरिकी राज्य हवाईमा ३० सेन्टिमिटर (एक फिट) भन्दा कम छाल आउने अनुमान गरेको छ। भूकम्पको केन्द्रविन्दु पेट्रोपाभलोभ्स्क–कामचात्स्की शहरबाट करिब १५० किलोमिटर पूर्वमा रहेको प्रशान्त महासागरमा रहेको बताइएको छ।
युएसजिएसका अनुसार प्रारम्भिक भूकम्पपछि अर्को भूकम्पसहित थुप्रै पराकम्पनहरू आएका थिए। रुसी आपतकालीन अवस्था मन्त्रालयले टेलिग्राममा लेखेको छ,’बेरिङ सागरको दक्षिणपश्चिमी भागमा रहेको कमान्डर टापुमा ६० सेन्टिमिटरसम्म र कामचाटका प्रायद्वीपमा १५ देखि ४० सेन्टिमिटरसम्म छाल आउने अनुमान गरिएको छ।’
प्रायद्वीप प्रशान्त र उत्तर अमेरिकी टेक्टोनिक प्लेटहरूको मिलन बिन्दु हो। यसलाई भूकम्पीय हिसाबले जोखिमयुक्त क्षेत्र मानिन्छ। सन् १९०० यता यस क्षेत्रमा ८.३ म्याग्निच्यूड वा सोभन्दा माथिका सातवटा ठूला भूकम्प गइसकेका छन्।