गान्तोक: सिक्किम सरकारको पशुपालन तथा पशु चिकित्सा विभागअन्तर्गत राजधानीस्थित राज्य पशु रोग निदान प्रयोगशालाको पहलमा पहिलोपटक लम्पी छाला रोग र अफ्रिकी स्वाइन ज्वरोबारे पीसीआरद्वारा पत्तो लगाउने अभियान शुरू गरेको छ। पोलिमरेज चेन रियाक्सन मानकीकरणको लामो परीक्षण पछि, एसएडीडीएलले अन्ततः लम्पी छाला रोग भाइरस र अफ्रिकी स्वाइन ज्वरो भाइरसको अवस्था मानकीकरण गर्न सक्षम बनेको विभागले जानकारी गराएको छ। पीसीआर मानकीकरणको प्रक्रियाको क्रममा राष्ट्रिय उच्च सुरक्षा पशु रोग संस्थान, भोपाल र विश्व पशु स्वास्थ्य संगठनद्वारा जारी गरिएको मानक सञ्चालन प्रक्रिया पालना गरिएको थियो। लम्पी छाला रोग गाईवस्तु, याक र भैंसीको एक संक्रामक भाइरल रोग हो, जसमा २-३ दिनसम्म हल्का ज्वरो आउने र त्यसपछि शरीरभरि छालामा कडा, गोलाकार छाला रोग उत्पन्न हुने विभागको भनाइ छ। यस रोगमा देखिने लक्षणहरूमा मुख, घाँटी र श्वासप्रश्वास नलीमा घाउ, हातखुट्टा सुन्निने, दूध उत्पादनमा कमी, गर्भपतन, बाँझोपन लगायत अन्य लक्ष्णहरू देखापर्ने गरेको विभागको भनाइ छ।