खरसाङ: खरसाङ नगरपालिका अन्तर्गत वार्ड नम्बर ७ काे सदभावना सोसियल वेलफेयर सोसाइटीकाे सदस्यहरुले आफ्नो समाज घरमा रंग गर्नुको साथै वरिपरि क्षेत्रकाे सरसफाइ र ब्लिचिङ छर्ने कार्य गरेको छ। स्मरण रहाेस् सद्भावना सोसियल वेलफेयर सोसाइटीले विगत धेरै वर्षदेखि खरसाङमा समाजिक कार्यहरु गर्दै आईरहेकाे छ। विशेष संघकाे सचिव दिनेश लामाले जानकारी गराए अनुसार पचास घर मिलेर बनेको सद्भावना संघ अथवा सद्भावना सोसियल वेलफेयर सोसाइटी एउटा समाज मात्रै नभएर समाजप्रतिकाे जिम्मेवारी के हाे र समाजको कर्तव्यवोध गराउने एउटा संस्था रहेको छ। वर्तमानमा धेरै समाजहरु निष्क्रिय रहेको र केवल मरौं र विवाहमा सरौ लेख्नुमा मात्रै सिमित रहेको र यस्ताहरुलाई जगाउने एउटा संस्था हाे। उनले भने, हामी प्रत्येक वर्ष विभिन्न प्रकारको सामाजिक कार्य गर्दै आईरहेको छौं, जस्तै – शिक्षाकाे लागि नानीहरूलाई प्रोत्साहन दिनु, स्वास्थकाे लागि निःशुल्क स्वास्थ्य जाँच शिविर, पर्यावरण बचाउनु वृक्षारोपण कार्यक्रम, स्वनिर्भर बन्नु सचेतनामूलक कार्यक्रमहरु आदि रहेको छ।
हामी कुनै विभागमा मात्रै भर परेर कार्यक्रम गर्दैनौं। हामी आफै आफ्नो संस्थाकाे कोषबाट प्रायः कार्य गर्ने गर्छौं। उनले थप जानकारी गराए, आजको कार्यक्रममा सभासद श्याम शेर्पाले पनि सहभागिता जनाएको थिए भने रंग उनले प्रदान गरेकोमा हामी संघकाे तर्फबाट उनलाई धन्यवाद ज्ञापन गर्दछौं। साथै आज हाम्रो संस्थाकाे सदस्यहरु जस-जसले सहभागिता जनाए सबैलाई पनि धन्यवाद ज्ञापन गर्दछौँ। आउँदो दिनमा पनि हामी अन्य सामाजिक कार्यक्रम गर्नेछौं यसमा सभासदबाट अनि हाम्रो सम्पूर्ण सदस्यहरुबाट सहयोगकाे अपेक्षा साचेकाे छौं भनी सदभावना सोसल वेलफेरकाे सचिव दिनेश लामाले जानकारी गराएका छन्।