कप्तान गिल र जयसवालको उत्कृष्ट ब्याटिंगले भारतको ५ विकेटमा ३१० रन

IMG-20250703-WA0005

बर्मिंघम: भारतले कप्तान शुभमन गिलको अविजित ११४ रनको सहायताले ईंग्ल्याण्डविरुद्ध दोस्रो टेस्ट म्याचको पहिलो दिन आफ्नो स्थिति मजबूत बनायो। भारतले बुधवार पहिलो दिनको खेल समाप्त हुँदासम्म आफ्नो पहिलो ईनिंग्समा ५ विकेट गुमाएर ३१० रन बनायो। पहिलो दिनको खेल समाप्त हुँदासम्म कप्तान गिल ११४ अनि रविन्द्र जडेजा ४१ रनमा अविजित रहे। गिलले २१६ बल खेलेर १२ वटा चौका लगाइसकेका छन्। यसरी जडेजाले ६७ बल खेलेर अविजित ४१ रन बनाएका छन्, जसमा ५ वटा चौका सामेल छ। पहिलो दिनको खेलमा ईंग्ल्याण्डका बलरहरूमा क्रिस वोक्सले सर्वाधिक २ विकेट लिए। म्याचमा टस हारेर पहिला ब्याटिंग गर्दै आज भारतको शुरुवात खराब रह्यो अनि ओपनर केएल राहुल केवल २ रन बनाएर आउट भए। त्यसपछि ओपनर यशस्वी जयसवालले भारतीय टीमलाई सम्हाल्ने जिम्मेवारी लिएर २ वटा असल पार्टनरशीप गरे। जयसवालले करुण नायरसँग मिलेर दोस्रो विकेटको निम्ति ८० अनि कप्तान गिलसँग तेस्रो विकेटको निम्ति ६६ रनको पार्टनरशीप गरे। नायरले ३१ रनको योगदान दिए। शतकको नजिक पुगेर जयसवाल ८७ रन बनाएर आउट भए। उनले १०७ बल खेलेर १३ वटा चौका लगाए। जयसवाल आउट भएपछि गिलले रिषभ पन्तसँग मिलेर स्कोर २०८ रनसम्म पुऱ्याए। असल फर्ममा देखिएको पन्त २५ रन बनाएर आउट भए। भारतले पन्तको लगत्तै पछि नीतीश कुमार रेड्डीको विकेट पनि गुमायो, जसले केवल १ रन बनाए। त्यसपछि गिलले जडेजासँग छैटौं विकेटको निम्ति ९९ रनको अटूट पार्टनरशीप गरेर भारतलाई असल स्थितिमा पुऱ्याए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement