गान्तोक: भारतीय राष्ट्रिय कांग्रेसका राष्ट्रिय प्रवक्ता तथा त्रिपुरा, ओडिशा र नागाल्याण्डका कांग्रेस प्रभारी डा. अजय कुमारको टिप्पणीलाई
सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) पार्टीले अत्यधिक गैरजिम्मेवार र असंवेदनशील ठहर गर्दै कडा निन्दा गरेको छ।
कांग्रेस नेता कुमारले मंगलवार कांग्रेस मुख्यालयमा आयोजित एक पत्रकार सम्मेलनमा सिक्किमलाई ‘छिमेकी राष्ट्र’ भनेर सम्बोधन गरेका थिए।
एसकेएम प्रवक्ता बिकास बस्नेतले एक पूर्व आईपीएस अधिकारी, पूर्व संसद सदस्य र भारतको सबैभन्दा पुरानो राजनीतिक दलका एक वरिष्ठ प्रतिनिधिबाट आएको यस्तो अभिव्यक्ति तथ्यात्मक रूपमा गलत मात्र होइन तर सिक्किमका जनताको भावनामा गहिरो चोट पुर्याएको आज विज्ञप्तिमा बताएका छन्। उनले यो लापरवाह र अज्ञानतापूर्ण टिप्पणीले भारतको क्षेत्रीय अखण्डताको बारेमा चेतनाको अभावलाई प्रदर्शन गर्दछ र १९७५ देखि भारतीय संघको अभिन्न अंगको रूपमा सिक्किमको वैध र गौरवशाली स्थितिलाई कमजोर बनाउँछ भनी उल्लेख गरेका छन्।
उनले एसकेएम पार्टी सिक्किमका जनतासँगै उक्त अपमानजनक टिप्पणीको कडा निन्दा गर्दछ र अखिल भारतीय कांग्रेस समितिबाट बिना शर्त सार्वजनिक माफीको माग गरेका छन्। यसैगरी, उनले डा. अजय कुमारको यस्तो अस्वीकार्य र आपत्तिजनक व्यवहारको लागि कांग्रेस नेतृत्वलाई कडा अनुशासनात्मक कारबाही गर्न आग्रह पनि गरेका छन्।
उनले छ दशकसम्म देशमा शासन गरेको कांग्रेस पार्टीले राष्ट्रिय मञ्चहरूमा प्रतिनिधित्व गर्न आधारभूत भौगोलिक र संवैधानिक ज्ञान नभएका व्यक्तिहरूलाई नियुक्त गर्नु चिन्ताजनक विषय रहेको बताएका छन्। यो घटनाले सिक्किमको पहिचानको गहिरो अज्ञानता र अवहेलनालाई उजागर गर्दछ, जुन कुनै पनि परिस्थितिमा सहन सकिँदैन भनी उनले विज्ञप्तिमा बताएका छन्।
उनले सिक्किम छिमेकी देश होइन, सिक्किम महान राष्ट्र भारतको अभिन्न अंग हो र हामी भारतीय हुनुमा गर्व गर्दछौं भनी बताएका छन्।
एसकेएम प्रवक्ता बस्नेतले एसकेएम पार्टी सिक्किमको गरिमा, पहिचान र अखण्डताको रक्षा गर्ने आफ्नो प्रतिबद्धता दोहोर्याउॅंदै कांग्रेस पार्टीलाई तत्काल सुधारात्मक कदम चाल्न र स्पष्टीकरण जारी गर्न माग गरेका छन्।